काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरीले युरोपियन बजारमा आफ्नो नयाँ रेन्ज एक्सटेन्डेड अफ रोडर एसयूभी आइकार भी २७ आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
कम्पनीले ग्रिसमा आयोजित ‘अटो एथिना २०२६’ मार्फत आइकार भी २७ युरोपेली बजारमा डेब्यू गराएको हो । कम्पनीले युरोपियन बजारमा आइकार भी २७ को सुरूआती मूल्य ५४ हजार ९०० युरो (करिब ९५ लाख नेपाली रुपैयाँ) तोकेको छ ।
आइकार भी २७ ईआरईभी प्रविधिमा आधारीत हाइब्रिड एसयूभी हो । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । साथै, ३४.३ किलोवाटको सीएटीएलको एलएफपी ब्याट्रीप्याक छ । यसको प्योर इलेक्ट्रीक रेन्ज १४५ किलोमिटर छ । ६० लिटरको फुल ट्यांकी इन्धनमा यसले ९०० किलोमिटर हाराहारी रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको अल ह्वील ड्राइभ मोडलको अधिकतम पावर ३३६ किलोवाट छ भने ५०५ न्यूटन मिटर टर्क प्रदान गर्न सक्छ । जसले शून्यदेखि १०० किलोमिटरको टप स्पीड भेट्टाउने समय ५.५ सेकेण्ड मात्रै लगाउँछ । कठिन बाटोका लागि यसमा अफरोड र स्नो जस्ता विशेष ड्राइभिङ मोडहरू समेत उपलब्ध छन्।
यसको लम्बाइ ४,९०९ एमएम, चौडाइ १,९७६ एमएम, उचाइ १,८५५ एमएम छ । पछाडिको स्विङ आउट टेलगेटमा पूर्ण आकारको स्पेयर ह्वील जोड्दा यसको कुल लम्बाइ ५,०५५ एमएम पुग्छ । यो ठूलो आकारको एसयूभीमा २९१० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
आइकार भी २७ को ग्राउण्ड क्लियरेन्स २२० एमएम र एप्रोच एङ्गल २३ डिग्री रहेको छ। यसमा एयर सस्पेन्सन नभए पनि एड्जस्टेबल ड्याम्पर्स दिइएको छ ।
ठूलो आकारको भए तापनि यो ५ सिटर एसयूभी हो। यसको केबिनमा १५.६ इन्चको सेन्टर स्क्रीन र एउटा सानो एलसीडी इन्स्ट्रुमेन्ट प्यानल राखिएको छ। अत्याधुनिक स्न्यापड्रागन ८२९५ पी चिपसेटले चलाउँछ । साथै, २३ स्पीकर अडियो सिस्टम, लेदर इन्टेरियर, विशाल रियर लेगरुम र प्यानोरामिक सनरुफ लगायत फिचर छन् ।
भी २७ मा सुरक्षाका लागि होराइजन रोबोटिक्सको जर्नी ६पी चिप र लाइडार प्रविधिमा आधारित लेभल २ एडास, ७ वटा एयर ब्याग, एबीएस, ईबीडी लगायत फिचर छन् ।
कम्पनीले आइकार भी २७ ले २०२६ मार्चमा चिनियाँ बजारमा बिक्री सुरू गरेको थियो ।चीनमा यसलाई हालै ५१.२ किलोवाट आवरको ठूलो एलएफपी ब्याट्रीसहित अपडेट गरिसकिएको छ । जसले २४३ किमीको इलेक्ट्रीक रेन्ज दिन्छ। तर, उक्त अपग्रेड गरिएको संस्करण विश्व बजारमा पुग्न भने केही समय लाग्नेछ ।
आइकार भी २७ नेपालमा पनि उपलब्ध छ । एसपीजी अटोमोबाइल्सले गत नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनी गरेको थियो । कम्पनीले यसको आधिकारिक बिक्री भने सुरू गरेको छैन ।

