होण्डाका ३०० सीसीका दुई नयाँ मोटरसाइकल बिक्री सुरू

काठमाडौं । होण्डा इन्डियाले ३०० सीसी डबल पर्पस सेग्मेन्टमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो विस्तारित १० मोडल लाइनअप अन्तर्गत एक्सआर ३०० एल र एक्सआर ३०० र्याली मोटरसाइकलको बिक्री सुरू गरेको हो ।

कम्पनीले होण्डा एक्सआर ३०० एल मोडलको मूल्य १ लाख ८३ हजार भारु र एक्सआर ३०० र्यालीको मूल्य २ लाख ८ हजार भारु (एक्स शोरुम बैंगलुरु) तोकेको छ । हाल यी दुवै मोडलको बुकिङ खुलाइएको छ भने डेलिभरि मिति तोकिएको छैन ।

होण्डाले एल मोडललाई मुख्यतः डुअल स्पोर्ट प्रयोगका लागि र र्याली मोडल लामो दूरीको यात्रा र एड्भेन्चर टुरिङलाई ध्यानमा राखेर बजारमा ल्याएको हो ।

एक्सआर एल मोडलमा स्लिम बडी डिजाइन, अग्लो फ्रन्ट मडगार्ड, स्लिम सिट र माथिल्लो भागमा राखिएको एक्जस्ट सिस्टम दिइएको छ । यसको न्यून बडीवर्क र अपराइट राइडिङ पोजिसनले सडकसँगै अफरोडमा पनि प्रयोग गर्न मिल्ने डिजाइनलाई प्राथमिकता दिएको देखिन्छ ।

यसमा अगाडि २१ इन्च र पछाडि १८ इन्चका स्पोक ह्वील प्रयोग गरिएको छ । लामो ट्राभल सस्पेन्सनका साथै ग्यास चाज्र्ड प्रो लिंक रियर सस्पेन्सन दिइएको छ ।

ब्रेकिङका लागि दुवै पाँग्रा डिस्क ब्रेक, डुअल–च्यानल एबीएस र डबल पर्पस टायर उपलब्ध छ । अफरोड राइडिङका क्रममा सहजताका लागि रियर एबीएस बन्द गर्न सकिने सुविधा पनि छ । त्यस्तै, सिम्पल एलसीडी कन्सोल र होण्डा सेलेक्टेबल टर्क कन्ट्रोल अर्थात् ट्रयाक्सन कन्ट्रोल पनि उपलब्ध छ । यसमा ७.८ लिटरको फ्युल ट्यांक पाउन सकिन्छ ।

एलभन्दा २५ हजार भारु महँगो र्याली मोडलमा एलकै आधारभूत इन्जिन आर्किटेक्चर प्रयोग भए पनि लामो दूरीको यात्रालाई ध्यानमा राखेर थप उपकरण र फरक बडी डिजाइन दिइएको छ ।

यसमा अग्लो विन्डस्क्रीन र अगाडिको भागमा थप बडीवर्क दिइएको छ । यसले मोटरसाइकललाई र्याली–प्रेरित लुक दिनुका साथै लामो यात्राका क्रममा हावाबाट हुने प्रभाव कम गर्न सहयोग गर्ने छ ।

यसको फ्युल ट्यांक क्षमता १३ लिटर रहेको छ, जुन एलको तुलनामा ५.२ लिटर बढी हो । यसमा टीएफटी इन्स्ट्रुमेन्ट कन्सोलसँगै होण्डा रोडसिंक कनेक्टिभिटी उपलब्ध छ । यसमार्फत टर्न–बाइ–टर्न नेभिगेसन, कल एसएमएस अलर्ट लगायतका विभिन्न कनेक्टेड फिचर प्रयोग गर्न सकिन्छ । ट्र्याक्सन कन्ट्रोल, स्विच गर्न मिल्ने डुअल–च्यानल एबीएस र प्रो लिंक रियर सस्पेन्सन पनि यसको प्रमुख फिचर हुन् ।

दुवै मोटरसाइकलमा समान २९३.५ सीसीको सिंगल सिलिण्डर, एयर–कुल्ड, एफआई इन्जिन प्रयोग गरिएको छ । इन्जिनमा आयल कुलरसमेत दिइएको छ । यद्यपि, यी मोटरसाइकलको अन्तिम पावर र टर्क तथ्यांक भने होण्डाले अझै सार्वजनिक गरेको छैन ।
एक्सआर ३०० दुई मोडलको आगमनसँगै होण्डाको नयाँ लाइनअप डुअल–स्पोर्ट तथा एड्भेन्चर टुरिङ सेग्मेन्टमा विस्तार भएको छ ।


Back_to_top