काठमाडौं । नारायणघाट–काठमाडौं सडकमा असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ ।
मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
विभागका अनुसार दशैंको बेला उक्त सडकमा सवारी चाप बढ्ने भएकाले ट्रक, ट्रेलर लगायतका ठूला गाडी चलाउन रोक लगाइएको हो । यद्यपि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने नरोकिने विभागले जनाएको छ ।
यस्तै, विभागले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक सवारी साधनको इजाजत पत्र (रुट परमिट) खुला गर्ने भएको छ ।
दशैंको समयमा यात्रुको चाप बढ्ने भएकाले देशका जुनसुकै स्थानमा पनि रुट परमिटबिना सार्वजनिक याताायत चलाउन पाइने व्यवस्था गरिएको विभागले जनाएको छ । यद्यपि, कुनै बाटोमा विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका गाडी भने चलाउन नपाइने विभागले जनाएको छ ।


