सस्तो ईभी आएपछि युरोपको कार बजार ‘बुम’, कसलाई भयो फाइदा ?

काठमाडौं । तुलनात्मक रूपमा सस्ता र साना विद्युतीय कार बजारमा थपिएसँगै युरोपेली बजारमा ईभीको बिक्री ‘बुम’ भएको हो ।

परिवहन तथा वातावरण सम्बन्धी संस्था ‘ट्रान्सपोर्ट एन्ड इन्भारोन्मेन्ट’को नयाँ प्रतिवेदनअनुसार सन् २०२६ को जनवरीदेखि अगस्टसम्म युरोपेली संघमा १६ लाख ४० हजार विद्युतीय कार बिक्री भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ प्रतिशत बढी हो ।

यस अवधिमा युरोपेली संघमा बिक्री भएका नयाँ कारमध्ये करिब २२ प्रतिशत विद्युतीय रहेका छन् । विद्युतीय कारको बिक्री बढ्नुका साथै बजारमा उपलब्ध मोडलको संख्या पनि एक वर्षमा ५० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

युरोपमा कडा हुँदै गएको कार्बन उत्सर्जनसम्बन्धी मापदण्डका कारण उत्पादकहरूले कम मूल्यका विद्युतीय कार बजारमा ल्याउन थाले । अहिले युरोपमा सबैभन्दा बढी बिक्री हुने २० विद्युतीय कारमध्ये पाँचवटाको सुरुआती मूल्य जर्मनीमा ३० हजार युरोभन्दा कम छ । यो रकममा पनि सरकारी सहुलियत उपलब्ध छन् ।

२५ हजार युरोभन्दा कम सुरुआती मूल्य भएका विद्युतीय कारको बिक्री यस वर्ष सन् २०२४ को तुलनामा सात गुणासम्मले बढ्ने अनुमान गरिएको छ । सन् २०२६ को अन्त्यसम्म युरोपेली बजारमा २५ हजार युरोभन्दा कम मूल्यका १६ वटा विद्युतीय मोडल उपलब्ध हुने अनुमान छ । यो संख्या गत वर्षको तुलनामा दोब्बर हो ।

रेनोको सस्तो ईभी रणनीति सफल

सस्तो विद्युतीय कारको बढ्दो मागबाट सबैभन्दा बढी फाइदा उठाउने कम्पनीमध्ये रेनो प्रमुख देखिएको छ । रेनोले ‘५ ई-टेक’ बजारमा ल्याएपछि कम्पनीको विद्युतीय कार बिक्रीमा उल्लेख्य वृद्धि भएको हो ।

रेनो ५ ई-टेक सन् २०२५ मा युरोपमा तेस्रो सर्वाधिक बिक्री हुने विद्युतीय कार बनेको थियो । साथै, सानो आकारको विद्युतीय कार खोज्नेको पहिलो रोजाई यही रेनो ५ ई-टेक नै थियो ।

त्यसपछि रेनोले अझ कम मूल्यको ‘ट्विङ्गो’ विद्युतीय कार बजारमा ल्याएको छ । यसको बजार प्रतिक्रिया पनि उत्साहजनक देखिएको छ । रेनोको विद्युतीय कार बिक्री सन् २०२५ मा ७२.२ प्रतिशतले बढेको थियो । सन् २०२६ को पहिलो ६ महिनामा थप ६३.२ प्रतिशतले बिक्री बढेको कम्पनीले जनाएको छ ।

थपिँदै नयाँ मोडल

युरोपेली बजारमा नयाँ विद्युतीय मोडल थपिने क्रमसँगै तिनले बिक्री सूचीमा पनि स्थान बनाउन थालेका छन् । अगस्टमा किया ईभी२, फक्सवागन आईडी पोलो जस्ता मोडलले राम्रो बिक्री पाउन थालेका छन् ।

सस्तो कार मात्रै नभई ठूला र महँगा विद्युतीय कारको बिक्री पनि युरोपमा बलियो रहेको तथ्यांकले देखाएको छ । जाटोको अगस्टको तथ्यांक अनुसार टेस्ला मोडल वाई, स्कोडा एलरोक, बीएमडब्ल्यू आईएक्स १, बीएमडब्ल्यू आईएक्स३ र फक्सवागन आईडी ४ प्रत्येकले ६ हजारभन्दा बढी दर्ता हासिल गरेका छन् ।

युरोपेली ब्राण्ड बलियो बन्दै

युरोपमा बढिरहेको विद्युतीय कारको विकल्पमा स्थानीय उत्पादकहरूको योगदान बढ्दै गएको छ । ट्रान्सपोर्ट एन्ड इन्भारोन्मेन्टका अनुसार युरोपमा उपलब्ध कुल विद्युतीय मोडलमध्ये करिब ६० प्रतिशत युरोपेली उत्पादकका छन् । सन् २०२६ को पहिलो ६ महिनामा मात्रै युरोपेली कम्पनीहरूले १६ नयाँ विद्युतीय मोडल थपेका छन् ।

चिनियाँ कार उत्पादकहरूको हिस्सा पनि बढिरहेको छ । उनीहरूले सोही अवधिमा ११ नयाँ विद्युतीय मोडल थपेका छन् । उनिहरुको हिस्सा करिब २१ प्रतिशत पुगेको छ ।


Back_to_top