‘तातोपानी नाका खुलाउन निरन्तर संवाद भइरहेको छ, तर ग्रीन सिग्नल आएको छैन’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका खुलाउन चीन निरन्तर संवाद भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन् ।

उनले तातोपानी नाका संचालनका लागि नेपाली पक्ष तयार रहे पनि चीनबाट अझै अनुमति प्राप्त नभएको उनले बताए । विपद्को जोखिम र बाढीपहिरोको डरका कारण चिनियाँ सरकार नाका खोलने विषयमा सतर्क रहने भएकाले अझै सहमति दिइनसकेको उनको भनाइ छ ।

‘तातोपानी नाका संचालनमा ल्याउन नेपाल पक्ष पूर्ण रुपमा तयार छ । तर, चिनियँँ पक्षले अहिलेसम्म ग्रीन सिग्नल दिइसकेको छैन,’ उनले भने ।

रसुवागढीमा भदौ १० मा बाढी आएसँगै चीनले १४ गतेदेखि अकस्मात तातोपानी नाका पनि बन्द गरेको थियो । नाका खुलाउन नेपाल सरकारले लगातार पहल गरिरहे पनि चिनियाँ पक्ष तयार नहुँदा सार्थकता पाउन सकेको छैन । जसकारण चाडवाडको मुखैमा चीनसँगको व्यापार ठप्प भएको छ ।

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँग जोड्ने नेपालको प्रमुख व्यापारिक नाका हुने बताए । उनले रसुवागढी नाका पुनः संचालनमा ल्याउन सरकारले योजना बनाइरहेको जानकारी दिए ।


Back_to_top