श्रीलंका पुग्दै बीवाइडी राको, नेपालमा पनि आउने सम्भावना

काठमाडौं । बीवाइडीले जापानी बजारलाई लक्षित गरेर विकास गरेको सानो विद्युतीय कार ‘राको’ अब जापानबाहिर श्रीलंकामा पनि बिक्री सुरू हुने भएको छ ।

बीवाइडीले जापानपछि अन्य राइट ह्याण्ड ड्राइभ बजारमा बिक्री थाल्ने रणनीति अनुसार श्रीलंकामा बिक्री सुरू गर्न लागेको हो ।

कम्पनीले मकाउमा पनि छिट्टै बिक्री थाल्ने जनाएको छ । राइट ह्याण्ड ड्राइभ बजारमा विस्तार हुन थालेकाले नेपालमा समेत यो मोडल छिट्टै आउने अनुमान गर्न सकिन्छ ।

जापानी ‘केई कार’ मापदण्ड अनुसार तयार गरिएको राकोको लम्बाइ ३३९५ एमएम, चौडाइ १४७५ एमएम र उचाइ १८०० एमएम छ । यसमा ह्वीलबेस २५२० एमएम लामो पाउन सकिन्छ ।

राकोमा ४७ किलोवाट क्षमताको विद्युतीय मोटर छ । बीवाइडीले यसमा २२.४ र ३५.८४ किलोवाट आवरको दुई ब्याट्री विकल्प दिएको छ । यी ब्याट्रीको रेन्ज क्रमशः २१० र ३२० किलोमिटर रहेको डब्लूएलटीसीको टेस्टमा देखिएको छ ।

जापानमा सार्वजनिक भएको दुई महिनामै राकोको बुकिङ २ हजार युनिट नाघिसकेको बीवाइडीले जनाएको छ । यसको सुरूवाती मूल्य २१ लाख ४५ हजार येन तोकिएको छ ।

नेपालमा बीवाइडी बजार हिस्सा ठूलो रहेको कारण राकोप्रति पनि चासो बढ्न सक्छ । विशेषगरी काठमाडौंजस्ता सहरी क्षेत्रमा सानो आकार, राम्रो रेन्ज र विद्युतीय प्रविधिका कारण यो उपयोगी बन्न सक्ने देखिन्छ ।


Back_to_top