काठमाडौं । ट्रायम्फले भारतमा ४०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । ट्रायम्फ इन्डियाले भारतीय बजारमा नयाँ बोनभिल ४०० मोटरसाइकलको बिक्री सुरू गरेको हो ।
कम्पनीले बोनभिललाई टी४, टी४० र टी४० ब्ल्याक गरी तीन भेरियन्टमा ल्याएको हो । कम्पनीले नयाँ बोनेभिल टी४ को मूल्य २ लाख ५४ हजार ९९९ भारु तथा टी४० र टी४० ब्ल्याकको समान २ लाख ७९ हजार ९९९ भारु (एक्स शोरुम दिल्ली) तोकेको छ । कम्पनीले आजैदेखि यसको बुकिङ पनि खुलाएको छ ।
नयाँ मोटरसाइकलमा क्लासिक डिजाइनसँगै आधुनिक प्रविधि र राइडर एड्स उपलब्ध गराइएको छ । नयाँ बोनभिलमा परम्परागत बोनभिल शैलीलाई नै प्राथमिकता दिइएको छ । यसमा टियरड्रप आकारको फ्युल ट्यांक, गोलाकार हेडलाइट, स्पोक ह्वील र ट्विन रियर शक एब्जर्बर दिइएको छ । फ्ल्याट बेन्च–स्टाइल सिट र पेइसुटर शैलीको एग्जस्टले मोटरसाइकललाई अझै क्लासिक लुक दिएको छ ।
मोटरसाइकलमा हेरिटेज शैलीका दुई–रंगी पेन्ट स्किम, हातले गरिएको कोच लाइनिङ तथा क्लासिक डिजाइनका एल्युमिनियम इन्जिन कभरसमेत प्रयोग गरिएको छ । यसको सिट हाइट ७९० एमएम रहेको छ । छोटो कदका राइडरका लागि उपलब्ध लो–सिट प्रयोग गर्दा सिट हाइट ७७० एमएममा झार्न सकिन्छ ।
मोटरसाइकलमा १४ लिटर क्षमताको फ्युल ट्यांक दिइएको छ । यसको ग्राउण्ड क्लियरेन्स १६५ एमएम, कर्ब वेट १९५ किलोग्राम र ह्वीलबेस १४१५ एमएम रहेको छ ।

च्यासिसमा ट्युबुलर स्टिल फ्रेम प्रयोग गरिएको छ । अगाडि ४३ एमएमको टेलिस्कोपिक फोर्क र पछाडि सात–स्टेप प्रिलोड एड्जस्टमेन्टसहित ट्विन शक अब्जर्बार दिइएको छ ।
मोटरसाइकलमा अगाडि १८ इन्च र पछाडि १७ इन्चको स्पोक ह्वील प्रयोग गरिएको छ । यसको स्पोक ह्वीलमा ट्युब प्रयोग गरिएको छ । ब्रेकिङका लागि अगाडि र पछाडि बाइब्री क्यालिपर डिस्क दिइएको छ ।
बोनेभिल टी४० र टी४० ब्ल्याक भेरियन्टमा टी४ को तुलनामा थप आधुनिक प्रविधि उपलब्ध गराइएको छ । यी भेरियन्टमा ४ इन्चको गोलाकार टीएफटी डिस्प्ले दिइएको छ । यसमा स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन तथा फोन र म्युजिक कन्ट्रोलको सुविधा, पाँच राइडिङ मोड, क्रुज कन्ट्रोल, कर्नरिङ एबीएस, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल लगायतका फिचरहरू छन् ।
टी४ भेरियन्टमा कलर एलसीडी डिस्प्ले, टर्न–बाइ–टर्न नेभिगेसन, राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल र डुअल–च्यानल एबीएस दिइएको छ । नयाँ मोटरसाइकलमा ट्रायम्फको टीआर सिरिजबाट विकसित ३४९ सीसी, लिक्विड–कुल्ड, सिंगल–सिलिण्डर डीओएचसी इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा २९ पीएस पावर तथा ५५०० आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ६–स्पीड गियरबक्स र असिस्ट–स्लिपर क्लचसँग जोडिएको छ ।
ट्रायम्फका अनुसार बोनभिलका लागि इन्जिनको छुट्टै ट्युनिङ गरिएको छ, जसले सहज र टर्कयुक्त पावर डेलिभरी प्रदान गर्ने लक्ष्य राखेको छ । यसमा इलेक्ट्रोनिक थ्रोटल प्रयोग गरिएको छ ।
भारतमा बिक्री सुरू भएसँगै ट्रायम्फ बोनभिल ४०० चाँडै नेपाल आउने देखिन्छ । नेपालका लागि ट्रायम्फको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ट्रायम्फका अरु मोड बिक्री गरिरहेकाले नयाँ मोडल पनि ल्याउने सम्भावना छ ।

