बेनी-जोमसोम-कोरला सडकको सबैभन्दा कठिन कुनौटा भिरमा छिचोलियो

काठमाडौं । कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको रघुगंगा गाउँपालिका-२ मा पर्ने कुनौटामा २५० मिटर सडक कटान गरेर बगाएको थियो । बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको हो ।

बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले चार दिनको प्रयासमा कुनौटामा दुईतर्फबाट सडक जोडिएको जानकारी दिए । बुधबार कुनौटामा सडक बनाउन दुईतर्फबाट ६ वटा एक्साभेटर र ६ वटै माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो ।

‘चार दिनको प्रयासपछि बुधबार कुनौटामा दुईतर्फबाट सडक जोडिएको छ । अब सडकलाई फिलिङ, लेभल मिलाउने र सवारीसाधन संचालन गर्न योग्य बनाउन बाँकी छ । एक-दुई दिनमा त्यो काम पनि सकिन्छ,’ उनले भने ।

पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका ठाउँमा प्रारम्भिक मर्मत कार्य सकिएको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

२०२ किलोमिटर लामो बेनी-जोमसोम-कोरला सडकमा असोज दोस्रो साता आएको बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध बनेको थियो । बाढीले १० ठाउँमा सडक कटान गरेर बगाएको र भत्काएको छ ।

अहिले मालढुङ्गादेखि कुनौटासम्म र कोरलादेखि पोखरेबगर सडक पुलसम्म ठूला सवारी साधन संचालन हुने गरी मर्मत गरिसकिएको छ । पोखरेबगर देखि कुनौटाको बीचमा पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने र नयाँ मार्ग बनाएको ठाउँमा ग्रेड, घुम्ती मिलाउने, फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको योजना प्रमुख शर्माले बताए ।

आगामी सोमबारसम्म सवारीसाधन संचालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको उनको भनाइ छ । सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको छ ।

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण बनेको छ । तर, बाढीपहिरोका कारण सडक एक सातादेखि बन्द हुँदै चाडवाडलाई लक्षित गरी ल्याइएका समान उतै अड्किएका छन् । व्यवसायीहरूका अनुसार सामान बोकेर आएका ५०० वटा कन्टेनर र सयौं संख्यामा विद्युतीय कार बीच बाटोमै रोकिएका छन् ।


Back_to_top