काठमाडौं । अमेरिकी कस्टम कार निर्माता ‘किन्डिग-इट’ डिजाइनले तयार पारेको विशेष ‘ट्वेल्भएयर’ (TwelveAir) कस्टम कार बिक्रीमा राखिएको छ ।
सन् २०२४ को ‘डे ट्रोइट अटोरा’मा प्रदर्शनीमा सार्वजनिक गरिएको थियो । उक्त कार बनाउन करिब पाँच वर्ष लागेको बताइएको थियो ।

देख्दा शेभ्रोलेट कोर्भेट जस्तो देखिए पनि ट्वेल्भएयर (TwelveAir) पूर्ण रूपमा नयाँ निर्माण गरिएको कार हो । यसको डिजाइन सन् १९५४ मा प्रस्तुत गरिएको शेभ्रोलेट ‘कोर्भेयर कन्सेप्ट’बाट प्रेरित छ ।
कारको सबैभन्दा आकर्षक पक्ष यसमा दिइएको ९.२ लिटर, भी-१२ इन्जिन हो । रेस कास्ट इन्जिनियरिङले तयार पारेको एल्युमिनियम इन्जिनले ६५० हर्सपावर प्रदान गर्छ । यसमा ७ स्पीड गियरबक्स पाउन सकिन्छ ।
एलएस भी-८ जस्तो सामान्य इन्जिन प्रयोग गर्नुको सट्टा निर्माणकर्ताले निकै ठूलो र विशेष भी–१२ इन्जिन प्रयोग गरेको छ । TwelveAir को इन्जिन डिजाइनलाई समेत कलात्मक ढंगले तयार पारिएको छ ।
TwelveAir को बडी एल्युमिनियमबाट निर्माण गरिएको हो । यसको बडी सामान्य कोर्भेटभन्दा फराकिलो र निकै होचो छ । ‘मोडर्न क्लासिक इन्फ्रारेड’ रङमा तयार गरिएको कारमा क्रोमयुक्त ग्रिल, बम्पर र विशेष डिजाइनका ह्वील दिइएका छन् ।

भित्री भागमा ट्यान लेदरको प्रयोग गरिएको छ । क्लासिक गेज, विशेष ‘स्क्विर्कल’ स्टेयरिङ ह्वील र ठूलो ट्रान्समिसन टनेल दिइएको छ ।
रिचमन्ड अक्सन्सले TwelveAir को लिलामी गर्नेछ । अर्को साता अक्टोबर १७ सम्ममा सबैभन्दा बढी रकम कबोल गर्नेले उक्त लिलामी जित्नेछ ।

