काठमाडौं । सन् १९३५ मा बनेको दुर्लभ ‘अर्बन ८५१ सुपरचाज्र्ड स्पिडस्टर’ लिलामीमा राखिएको छ । अमेरिकाको प्रतिष्ठित आरएम सोथेबीले आयोजना गरेको हर्सी लिलामीमा राखेर यसलाई बिक्री गर्न लागिएको हो ।
अमेरिकाकै सुन्दर कार मानिने यसको कारको मूल्य ८ लाख ५० हजारदेखि ९ लाख ५० हजार अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । जुन नेपाली रुपैयाँमा कम्तीमा १३ करोड रुपैयाँ बराबर हुनेछ ।
यो कार डिजाइनर गोर्डन बुएरिगले तयार पारेका हुन् । लामो र होचो बडी, ठूलो अगाडिको ग्रिल, बाहिरै देखिने क्रोमयुक्त एक्जस्ट पाइप, ढल्किएको विन्डस्क्रिन र ‘बोटटेल’ डिजाइनको पछाडिको भागले यसलाई क्लासिक कारमध्ये विशेष बनाएको छ ।
आरएम सोथेबीका अनुसार यो कार उत्पादन भएको पहिलो ८५१ स्पिडस्टर भएको दाबी गरिएको छ । यसको बडी नम्बर यू४७-२०० र सुपरचार्जर नम्बर १००१ रहेको छ ।

कारमा सुपरचाज्र्ड ४.६ लिटर लाइकमिङ स्ट्रेट-एट इन्जिन छ । यसले १५० हर्सपावर उत्पादन गर्छ । तीन स्पिड म्यानुअल गियरबक्समार्फत पछाडिको ह्वीलमा पावर दिइन्छ । यसमा कोलम्बिया डुअल-रेसियो रियर एक्सलसमेत प्रयोग गरिएको छ ।
यस कारको ड्यासबोर्डमा रेसर अब जेन्किन्सको हस्ताक्षर भएको विशेष प्लेट पनि छ ।
यसको इतिहास सन् १९५० को दशकसम्म पुग्छ । दुर्घटनापछि त्यसबेला केवल २०० डलरमा खरिद गरिएको यो कारमा पछि नयाँ फ्रेम जडान गरिएको थियो । सन् १९९४ मा पूर्ण पुनस्र्थापना गरिएको कारमा २०२५/२६ मा मात्रै मेकानिकल तथा बाहिरी सुधारका लागि १५ हजार डलरभन्दा बढी खर्च गरिएको जनाइएको छ ।

