काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
महासंघले चाडपर्वको बेलामा सरकारले तोकेको भाडादरमै यात्रु बोक्न भनेको हो । यदि, कसैले सरकारले तोकेभन्दा बढी भाडा लिएमा त्यस्ता सवारी साधनलाई कारबाही गरिने महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
दशैँका लागि भोलि (असोज २३ गतेदेखि) देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला हुँदैछ ।
महासंघले सात प्रदेश, जिल्ला समिति तथा सदस्य संघसंस्था र काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ ।
महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।
काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासंघका तर्फबाट गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।
यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाउने छ ।

