काठमाडौं । सुजुकीले आफ्नो पहिलो विद्युतीय ह्याचव्याक ‘ई-स्काई’ सार्वजनिक गरेको छ । कम्पनीले जापानमा १५ लाख ५० हजार जापानी येन तोकेर सार्वजनिक गरेको हो ।
जापानको केई कार सेग्मेन्टमा आउने ई-स्काईसँगै सुजुकीले विद्युतीय कार बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने रणनीति अघि सारेको हो ।
सुजुकीले ई-स्काईमा २६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरेको छ । यसले डब्लूएलटीसी परीक्षणअनुसार एकपटकको चार्जमा ३१० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
सुजुकीले ई-स्काईका लागि ‘हार्टेक्ट-ई’ नामको छुट्टै विद्युतीय प्लेटफर्म विकास गरेको छ । यसमा विद्युतीय मोटर, इन्भर्टर, रिडक्सन गियर र ब्याट्री प्याक समावेश छन् ।
सुजुकी ई-स्काईको जापानमा बिक्री आगामी नोभेम्बर १६ बाट सुरु हुनेछ । कम्पनीले जापानी बजारमा मासिक करिब १ हजार युनिट बिक्री गर्ने लक्ष्य लिएको छ । युरोप र बेलायतमा भने सन् २०२७ मा बिक्री सुरु हुने अपेक्षा गरिएको छ ।
ई-स्काईको लम्बाइ ३३९५ मिलिमिटर र चौडाइ १४७५ मिलिमिटर छ । जापानमा केई कारका लागि तोकिएका कडा आकारसम्बन्धी मापदण्ड पूरा गर्न यसको आकार सीमित गरिएको हो ।

