ज्यागुअर टाइप-०१ सार्वजनिक, डिजाइनमा विभाजित भए विश्लेषक

काठमाडौं । बेलायती प्रिमियम कार निर्माता ज्यागुअरले आफ्नो नयाँ विद्युतीय सेडान ‘टाइप ०१’ सार्वजनिक गरेको छ । सन् २०२४ डिसेम्बरमा प्रस्तुत गरिएको टाइप-०० अवधारणामा बसेर तयार परिएको टाइप ०१ सार्वजनिक भएको हो ।

न्युयोर्कमा सार्वजनिक गरिएको टाइप ०१ को डिजाइन परम्परागत ज्यागुअरका गाडीभन्दा विल्कुलै फरक छ । यसको पृथक बनोट, बलियो र चौडा देखिने बाहिरी डिजाइन र आधुनिक फिचरसहितको विद्युतीय कार अन्य सेडानभन्दा अलग देखिएको छ ।

अमेरिकी बजारमा यसको मूल्य करिब १ लाख ३० हजार डलर रहेको छ । यसको मूल्य, डिजाइन, फिचर जस्ता कुरा बाहिर आएपछि स्वभाविक रूपमा यसले धनाढ्यहरूको बीचमा क्रिया-प्रतिक्रिया पाउन सफल भएको छ ।

ज्यागुअरले आफ्नो परम्परागत पहिचान परिवर्तन गर्दै नयाँ लोगो र आधुनिक डिजाइन शैली अपनाएपछि यसअघि नै विवाद उत्पन्न भएको थियो । विशेषगरी ज्यागुअरको चर्चित उफ्रिरहेको बिरालोको आकृतिको लोगो हटाएर सरल र आधुनिक चिह्न प्रयोग गर्ने निर्णयलाई ब्राण्डका धेरै पुराना प्रशंसकले मन पराएका थिएनन् ।

बाहिरी डिजाइनको प्रशंसा, भित्री भागको आलोचना

टाइप ०१ को बाहिरी डिजाइनलाई कतिपयले आकर्षक, शक्तिशाली र भविष्यको गाडी सुहाउँदो बताएका छन् । सामाजिक संजालमा केही पुराना ज्यागुअर प्रयोगकर्ताले समेत यसको फरक स्वरूपको प्रशंसा गरेको पाइयो ।

यसको डिजाइनमा सन् १९९० को दशकको ब्याटम्यान कार्टुनमा देखिने ब्याटमोबाइलको झल्को पाइएको टिप्पणी पनि गरिएको छ । तर, गाडीको भित्री बनावट भने आलोचनाको विषय बनेको छ ।

बाहिरबाट ठूलो देखिए पनि भित्रको ठाउँ अपेक्षाकृत साँघुरो भएको, विशेषगरी पछाडिको सिटमा पर्याप्त ठाउँ नदेखिएको आलोचकहरूको भनाइ छ । लामो अगाडिको भागले गाडीलाई प्रभावशाली स्वरूप दिए पनि त्यसले भित्री ठाउँको उपयोगितामा प्रश्न उठाएको हो ।

त्यस्तै, भित्री सजावट सामान्य देखिएको र परम्परागत ज्यागुअर गाडीमा पाइने विलासी अनुभूति कम भएको भन्दै आलोचना गरिएको छ ।

लोगो परिवर्तनपछिको टिप्पणी

ज्यागुअरको नयाँ लोगो र गाडीको अगाडिको भागमा रहने चर्चित बिरालोको आकृति हटाइएको विषयमा पनि प्रशंसकको असन्तुष्टि देखिएको छ । कतिपयले नयाँ शैलीलाई समयभन्दा अगाडि रहेको बताएका छन् । केहीले यसलाई ब्राण्डको मौलिक पहिचानबाट टाढिएको निर्णय मानेका छन् ।

यद्यपि, अटोमोबाइल सम्बन्धी केही संचारमाध्यम र डिजाइनमा रुचि राख्नेहरूले टाइप ०१ को बनावटको प्रशंसा गरेका छन् । विशेषगरी छतको रेखादेखि पछाडिको भागसम्म फैलिएको एउटै एल्युमिनियम प्यानललाई यसको उल्लेखनीय पक्ष मानिएको छ । ज्यागुअरका अनुसार उक्त प्यानल निर्माण गर्नु प्राविधिक रूपमा निकै चुनौतीपूर्ण थियो ।


Back_to_top