काठमाडौं । चेरी ग्रुप अन्तर्गतको जेटोर ब्राण्डलाई कम्पनीले प्रिमियम अफरोड एसयूभी ब्राण्डका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ ।
कम्पनीले सार्वजनिक गरेको ‘ग्लोबलाइजेसन ३.०’ रणनीति अन्तर्गत जेटोरलाई उच्च मूल्यका अफरोड गाडीमा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने योजना बनाएको हो ।
चेरीले यसअघि जेटोरलाई मुख्यतः आम उपभोक्तालाई लक्षित गर्दै यात्रा तथा घुमफिरमा उपयोगी गाडी उत्पादन गर्ने ब्राण्डका रूपमा स्थापित गरेको थियो । तर, पछिल्लो रणनीति अनुसार जेटोर अब उच्च मूल्यका अफरोड एसयूभीमा केन्द्रित हुनेछ ।
चाइना ईभी डेटाट्रयाकरका अनुसार सन् २०२६ को अगस्टसम्म चीनमा जेटोरका कुल १७ लाख ४ हजार ४१५ गाडी बिक्री तथा डेलिभरी भएका छन् । घरेलु बजारसँगै मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय बजारमा पनि जेटोरले आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।
चेरीले प्रिमियम बजारमा आफ्नो उपस्थिति बलियो बनाउन जेटोरसँगै एक्सिड ब्राण्डलाई पनि अघि बढाउने देखिएको छ । यी दुई ब्राण्डको बजार लक्ष्य भने फरक हुनेछ ।

एक्सिड परम्परागत लक्जरी गाडीको बजारमा केन्द्रित हुनेछ भने जेटोरले अफरोड क्षमता, बलियो बनावट र साहसिक यात्राका लागि उपयुक्त एसयूभीमा ध्यान दिनेछ ।
जेटोरको उक्त लक्ष्य भेट्टाउने उत्पादनको रूपमा जी-७०० प्लग-इन हाइब्रिड एसयूभी तयार पारिसकेको छ । उक्त एसयूभी छुट्टै फ्रेममा आधारित रहेर बनाएको हो ।
जी-७०० मा ६६५ किलोवाट अर्थात् ८९२ हर्सपावरको अधिकतम पावर रहने छ । यसमा ब्याट्री पनि ५९.४५ किलोवाट आवरको छ । जसले प्योर ईभी रेन्ज नै २११ किलोमिटर दिने कम्पनीको दाबी छ ।
नेपालमा पनि लन्च गर्ने तयारी
लक्ष्मी मोटरहब आधिकारिक बिक्रेता रहेको जेटोर ब्राण्डको गतिविधि आगामी साताबाट सुरू हुनेछ । कम्पनीले केही युनिट जेटोर नेपाल ल्याइसकेको छ ।
साउन अन्तिममै नेपाली बजारमा प्रवेश गर्न तयार रहेको जेटोरका एसयूभी भोटेकोसी बाढीमा परेको कारण ढिलोगरी बजारमा आउन लागेको हो । नेपालमा पनि लाइफ स्टाइल भेहिकल खोज्ने उपभोक्ताको लागि यो ब्राण्ड उपयोगी हुने देखिन्छ ।

