टेस्लाको नयाँ पेटेन्ट : हावाले सडकमा टाँसिने कार

काठमाडौं । विद्युतीय कारको गति र शक्ति बढाउने प्रतिस्पर्धा बीच अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले गाडीको पकड क्षमता बढाउने नयाँ प्रविधिमा काम गरिरहेको संकेत दिएको छ । कम्पनीले विद्युतीय पंखाको सहायताले गाडीको मुनिबाट हावा तानेर सडकमा थप वलपूर्वक टाँसिने प्रविधिको पेटेन्ट प्राप्त गरेको हो ।

सेप्टेम्बर २९ मा स्वीकृत भएको ‘इलेक्ट्रीक फ्यान कार’ नामक पेटेन्टमा गाडीको तल्लो भागमा हावा प्रवेश गर्ने मार्ग, पछाडितर्फ ठूलो निकास र त्यसमा जडान गरिएका विद्युतीय पंखाको व्यवस्था गरिएको उल्लेख छ ।

पंखाले गाडीको मुनिबाट हावा तानेर बाहिर निकाल्दा उत्पन्न हुने वायुदाबले गाडीलाई सडकतर्फ थप दबाब दिने अवधारणा समेटिएको छ । यो पद्धतिको विकास पूरा भए सडकमा गाडी र चक्काको ‘ग्रिप’ थप मजबुत हुनेछ ।

सामान्य स्पोर्टस् कारमा प्रयोग हुने पखेटा, स्पोइलर र अन्य वायुगतिकीय संरचनाले गाडीको गति बढेपछि मात्रै अतिरिक्त दबाब (डाउनफोर्स) सिर्जना गर्छन् । तर, पंखामा आधारित यो प्रविधिले गाडी स्थिर अवस्थामा रहँदा पनि डाउनफोर्स उत्पादन गर्न सक्छ ।

यसले कम गतिमा मोड काट्दा, तीव्र गतिमा दौडिँदा तथा ब्रेक लगाउँदा टायरको पकड क्षमता बढाउन सहयोग पुर्याउने छ । साथै, ठूला स्पोइलरले जस्तो हावाको प्रतिरोधसमेत सिर्जना गर्दैन ।

यो प्रविधि मोटरस्पोट्र्सका लागि भने नयाँ होइन । सन् १९७० मा च्यापारलले आफ्नो २जे रेसिङ कारमा छुट्टै इन्जिनबाट चल्ने दुईवटा पंखा प्रयोग गरेको थियो । त्यस्तै, गोर्डन मरे अटोमोटिभको टी-५० र म्याकमट्र्रीको स्पर्लिङमा पनि पंखामार्फत डाउनफोर्स उत्पादन गर्ने प्रविधि प्रयोग गरिएको थियो ।

टेस्लाको नयाँ पेटेन्टमा रोडस्टरलाई सम्भावित प्रयोगकर्ताका रूपमा हेर्न सकिए पनि यसको चित्रमा मोडल एस देखाइएको छ । पेटेन्टले कुनै एउटा मोडलमा मात्र यो प्रविधि सीमित गरेको छैन । त्यसैले कम्पनीका प्लेड र पर्फर्मेन्स संस्करणका कारमा समेत यसको प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि, यो प्रविधि उत्पादनमा जाने निश्चित भइसकेको छैन । यसले गर्ने ऊर्जा खपत, निकाल्ने आवाज, टिकाउपन र जडानको लागत चुनौतीपूर्ण हुने सम्भावना छ ।


Back_to_top