संचालनमा आयो बेत्रावती बेलिब्रिज

काठमाडौं । बेत्रावतस्थित फलाखु खोलामा निर्माण गरिएको बेलिब्रिज संचालनमा आएको छ ।

नेपाली सेनाको सहयोगमा जडान गरिएको उक्त पुलमा आज बिहानदेखि सवारी साधन आवतजावत खुला गरिएको हो ।

यससँगै डेढमहिनापछि नुवाकोट र रसुवा बीच सिधा सकड सम्पर्क कायम भएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बेत्रावतीको पक्की पुल बगाएसँगै सडक सम्पर्क टुटेको थियो ।

फलाखु खोलामा ७३ मिटर लामो बेलिब्रिज जडान गरी यातायात सुचारु गरिएको हो । यसअघि नुवाकोटको उत्तरगया नजिकैको ३०० मिटर लामो भीरमा नयाँ ट्रयाक खोली बेत्रावतीसम्म सडक पुर्याइएको थियो ।

बेत्रावतीमा पुल बनेसँगै अब स्याफ्रुबेँसी वारीसम्म सवारी साधन संचालन हुनेछन् ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले स्याफ्रुबेँसीमा पनि बेलिब्रिज जडानको तयारी थालिसकिएको जानकारी दिएका छन् ।

उनका अनुसार स्याफ्रुबेँसीमा पुलको फाउण्डेसन निर्माणका लागि खोलाको दुवैतर्फ एप्रोच रोड तयार भएको छ । अब स्याफ्रुबेंसीमा पुल निर्माणको कामले थप गति लिने उनको भनाइ छ ।


Back_to_top