काठमाडौं । नेपाली बजारमा म्याक्ससको प्रिमियम १६ सिटे इलेक्ट्रीक माइक्रोबस सार्वजनिक भएको छ ।
नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रोक्स प्रालिले म्याक्सस ई डेलिभर ५ बिक्री सुरू गरेको हो ।
कम्पनीले म्याक्सस ई डेलिभर ५ को मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकेको छ । यो गाडी विशेषगरी होटल, रिसोर्ट, अन्य पर्यटन क्षेत्रको आतिथ्य सेवा तथा व्यावसायिक यातायात क्षेत्रका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
नेपालको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ । यस्तोमा आकर्षक बनावट, सुविधा सम्पन्न इन्टेरियर, उन्नत सुरक्षा प्रविधि, आरामदायी तथा यात्रु सुविधा र व्यावहारिक उपयोगिताको संयोजन रहेको म्याक्सस ई डेलिभर ५ उत्कृष्ट विकल्प भएको कम्पनीले जनाएको छ।
ई डेलिभर ५ को क्याबिनमा १२.३ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट प्रणाली छ । जसले ब्लुटुथ, यूएसबी, वायरलेस, एप्पल कार प्ले तथा एण्ड्रोइड अटो सर्पोट गर्छ । साथै, यसमा चार तहको एडजस्टेबल स्टेरिङ, आकर्षक तथा आधुनिक ककपिट, स्टेरिङ माउन्ट तथा स्विच गियर जस्ता सुविधा छन् ।
म्याक्सस डेलिभर ५ मा ६४ कलेवाट आवर क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। जसले एकपटकको फुलचार्जमा एनईडीसी परीक्षण अनुसार ४०० किमीसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
यसमा १२० किलोवाट पावर दिने इलेक्ट्रीक मोटर छ । जसले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसले ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट मात्र लाग्दछ।
सुरक्षा तथा सुविधालाई प्राथमिकता दिँदै यस गाडीमा ३६० डिग्री अराउण्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याष्टिभ कुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ तथा ड्राइभर स्टेट मोनिटरिङ जस्ता फिचर छन् ।
यसका अतिरिक्त चालक तथा अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता आधुनिक सुरक्षा सुविधा समेत उपलब्ध छन् ।
२०० एमएम ग्राउण्ड क्लिरेन्स रहेको डेलिभर ५ का सबै चक्काहरू अलोय ह्वील सहित रहेको छ ।
कम्पनीले ई डेलिभर ५ को ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी दिएको छ । जसले गर्दा विद्युतीय व्यावसायिक सवारीसाधन अपनाउन चाहने व्यवसायीहरूलाई थप विश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले केही समयअघि मात्रै म्याक्सस ई टेरेन ९ पिकअप पनि बजारमा ल्याएको थियो । जुन पिकअप आकर्षक तथा बोल्ड भएका कारण नेपाली बजारमा हाल निकै नै लोकप्रिय हुन थालेका छन् ।

