मोटर बीमा गराउने १९ प्रतिशतले बढे, २ महिनामै खर्चिए साढे २ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन-भदौ मसान्त)मा मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको छ । गत आवको २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मोटर बीमालेख (पोलिसी) संख्या ४२ हजार ६६९ वटाले बढेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउन र भदौमा गरी कुल २ लाख ६२ हजार ४१४ वटा मोटर बीमालेख (पोलिसी) जारी भएका छन् । जुन गत वर्ष सोही अवधिको तुलनामा १९.४२ प्रतिशत धेरै हो । गत वर्ष भदौ मसान्तसम्म कुल २ लाख १९ हजार ७४५वटा मोटर बीमा पोलिसी जारी भएको थियो ।

२०८३ भदौमा जेनजी आन्दोलन यता मोटर बीमा गराउनेको संख्या लगातार बढ्दै गएको प्राधिकरणको तथ्यांकले देखाउँछ । आन्दोलन, प्राकृतिक विपद लगायत कारण सवारीधनीले ठूलो क्षति व्यहार्नुपरेपछि केही सचेत भई बीमा गराउन थालेको बीमकहरू बताउँछन् ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।

२ महिनामै खर्चिए झण्डै साढे २ अर्ब

चालु आवमा मोटर बीमा पोलिसीको संख्या बढेसँगै प्रिमियम रकम पनि बढेको छ । २ महिनामै सवारीधनीले आफ्नो साधन बीमा गर्नका लागि साढे २ अर्ब रुपैयाँ बढी खर्चिएका छन् ।

२ महिनामा निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत २ अर्ब ६० करोड ८५ लाख ५५ हजार रुपैयाँ प्रिमियिम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३० करोड रुपैयाँ धेरै हो । गत वर्ष २ महिनामा मोटर बीमाबाट २ अर्ब ३० करोड ६९ लाख ७० हजार रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

हाल कम्पनीहरूले थर्ड पार्टी र कम्प्रिहेन्सिभ मोटर बीमा गर्छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यो बीमा गर्दा सवारीमा साधनमा क्षति पुने क्षतिपूर्ति पाइन्छ । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।


Back_to_top