काठमाडौं । गुगलले आफ्नो लोकप्रिय नेभिगेसन एप गुगल म्याप्समा जेमिनी एआईलाई एप्पल कारप्लेमा समेत उपलब्ध गराउन थालेको छ । यससँगै आईफोन प्रयोग गर्ने चालकले गाडी चलाइरहेकै अवस्थामा सामान्य कुराकानीको शैलीमा प्रश्न सोधेर गन्तव्य, बाटो, मौसम र ट्राफिकसम्बन्धी जानकारी लिन सक्ने भएका छन् ।
अक्टोबर २१ देखि अमेरिकामा सुरु भएको यो सुविधा क्रमशः विश्वव्यापी रूपमा विस्तार भइरहेको गुगलले जनाएको छ । यसका लागि आईफोनलाई कारको इन्फोटेनमेन्ट सिस्टमसँग जोडेर गुगल म्याप्समा नेभिगेसन सुरु गर्नुपर्छ । त्यसपछि कारको डिस्प्लेमा देखिने जेमिनी आइकन थिचेर प्रश्न सोध्न सकिन्छ ।
यसको विशेषता भनेको एउटै प्रश्नमा सीमित हुनुनपर्ने हो । उदाहरणका लागि, चालकले ‘सहरको सुन्दर दृश्य देखिने पार्क कहाँ छ?’ भनेर सोध्न सक्छन् । त्यसपछि उक्त स्थानमा पुग्न कति समय लाग्छ, त्यहाँ पुग्दा भीड हुन्छ कि हुँदैन र टोल शुल्क लाग्ने बाटो छल्न सकिन्छ कि सकिँदैन भनेर थप प्रश्न गर्न सकिन्छ । जेमिनीले जवाफ दिनुका साथै आवश्यक परे नेभिगेसनसमेत सुरु गरिदिन्छ ।
त्यस्तै, सडक दुर्घटना, ट्राफिक अवरोध वा अन्य समस्या देखिएमा आवाजकै माध्यमबाट गुगल म्याप्समा जानकारी दिन सकिन्छ ।
नेपालमा कति उपयोगी ?
नेपालमा पनि यो प्रविधि निकै उपयोगी हुन सक्छ । काठमाडौंको ट्राफिक जाम, अपरिचित गन्तव्य, राजमार्गका वैकल्पिक मार्ग तथा यात्राका क्रममा खाना खाने ठाउँ वा चार्जिङ स्टेसन खोज्न यसले चालकलाई सहयोग गर्न सक्छ ।
विशेषगरी विद्युतीय गाडी प्रयोगकर्ताले यात्राका क्रममा आवश्यक सेवा खोज्न यस्तो सुविधा उपयोग गर्न सक्ने सम्भावना छ । तर, कारप्लेमा यसको विश्वव्यापी विस्तार, नेपाली भाषाको प्रयोग, स्थानीय नक्साको शुद्धता र इन्टरनेट उपलब्धता महत्त्वपूर्ण हुनेछ ।
यसले चालकलाई मोबाइलको स्क्रिनमा बारम्बार हेर्नुपर्ने आवश्यकता घटाउँदै सुरक्षित र सहज यात्रा अनुभव दिने अपेक्षा गरिएको छ ।

