टोयोटाको ईभी बिक्रीमा १२७ प्रतिशतको उछाल

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाको विद्युतीय गाडीको बिक्रीमा उछाल आएको छ । कम्पनीले सन् २०२६ को पहिलो सेप्टेम्बर अन्तिमसम्ममा भएको बिक्री अनुसार १२७.४ प्रतिशतले बिक्री बढाएको हो ।

ईभीको बिक्रीमा उछाल आएपनि ठूलो मध्येको एक बजार चीनमा पेट्रोल र हाइब्रिड गाडीको माग घट्दा कम्पनीको समग्र विश्वव्यापी बिक्री भने लगातार तीन महिनादेखि ओरालो लागेको छ ।

टोयोटा र लेक्ससले जनवरीदेखि सेप्टेम्बरसम्म विश्वभर ३ लाख ९ हजार ७६६ युनिट ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १२७.४ प्रतिशतले बढी हो ।

सन् २०२६ जनवरीमा ८७.५ प्रतिशत वृद्धि भएको ईभी बिक्री त्यसपछिका प्रत्येक महिनामा दोब्बरभन्दा बढीले बढेको कम्पनीको तथ्यांकले देखाउँछ ।

ईभी बिक्री बढ्नुमा टोयोटा बीजेड फोरएक्स र लेक्सस आरजेडको अपडेटेड संस्करणसँगै सीएचआर प्लस, बीजेड फोरएक्स टुरिङ र अर्बन क्रुजरजस्ता नयाँ ईभी मोडलले साथ दिएको देखिन्छ ।

ईभीको बिक्रीमा उछाल आएको भएपनि सेप्टेम्बरमा टोयोटाको विश्वव्यापी बिक्री भने २.२ प्रतिशतले घटेर ८ लाख ६० हजार १०७ युनिटमा सीमित भएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म कुल बिक्री ७५ लाख १० हजार युनिट पुगे पनि यो गत वर्षको तुलनामा ३.४ प्रतिशत कम हो ।

चीनमा कम्पनीको अवस्था अझ चुनौतीपूर्ण देखिएको छ । पहिलो ९ महिनामा चीनमा टोयोटाको बिक्री १८.९ प्रतिशतले घटेर १० लाख ५० हजार युनिटमा झरेको छ । चीनमा लगातार आठौं महिना बिक्री घटेको हो ।

चीनमा पेट्रोल र हाइब्रिड गाडीको माग कमजोर हुँदा यस्तो असर परेको टोयोटाको भनाइ छ । बीवाइडीजस्ता स्थानीय उत्पादकसँग प्रतिस्पर्धा गर्न कम्पनीले चिनियाँ प्रविधि र उत्पादन प्रणालीसमेत अपनाउन थालेको छ ।


Back_to_top