चितवन राष्ट्रिय निकुञ्ज भित्र सडक बनाउन ईआइए प्रतिवेदन तयार, ९० करोड लाग्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्र निर्माण हुने बनकट्टा-देउराली-नयाँपुल-ध्रुवघाट-जगतपुर सडक खण्डको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ । जियोकम इन्टरनेसनल प्रालिले उक्त सडकको ईआइए प्रतिवेदन तयार पारेको हो ।

उक्त प्रतिवेदन सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।प्रतिवेदन स्वीकृत भएपछि मात्र आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ ।

ईआइए प्रतिवेदन अनुसार चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र हुँदै बनकट्टा-देउराली-नयाँपुल-ध्रुवघाट-जोड्ने नयाँ ७.८१३ किलोमिटर सडक निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित सडक रिउखोला (बनकट्टा) बाट ध्रुवपोष्ट हुँदै ध्रुवघाटसम्म पुग्नेछ। त्यसपछि राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुरसँग जोड्ने योजना छ।

प्रस्तावित सडक कुल १२ मिटर फराकिलो हुनेछ । जसमा ७ मिटर मुख्य कालोपत्र सडक र दुवैतर्फ २.५/२.५ मिटर सडक किनारा निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ ।

ईआइए प्रतिवेदन अनुसार उक्त सडक निर्माणको प्रतिकिलोमिटर लागत औसतमा ११ करोड ५३ लाख रुपैयाँ रहेको छ । सो अनुसार ७.८१३ किमी सडक बनाउन करिब ९० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

आयोजनाले सडक निर्माणसँगै वातावरणीय प्रभाव न्यूनीकरणका लागि मात्रै कुल लागतको ६.७४ प्रतिशत अर्थात् ६ करोड ७ लाख रुपैयाँ खर्च हुनेछ । उक्त रकम वन तथा वन्यजन्तु संरक्षण, क्षतिपूर्ति वृक्षरोपण, वन्यजन्तुमैत्री संरचना निर्माण, वातावरणीय अनुगमन तथा अन्य प्रभाव न्यूनीकरणका लागि खर्च गरिने प्रस्ताव गरिएको छ ।

नयाँ सडक बनेपछि माडी र ठोरी क्षेत्रका बासिन्दालाई भरतपुर पुग्ने यात्रा अवधि र दुरी छोटिने छ । यो खण्डको दुरी ६ किलोमिटर कम हुनेछ । साथै, भरतपुर(माडी आवतजावतमा सहज हुनुका साथै यातायात खर्च समेत घटाउने अपेक्षा गरिएको छ ।


Back_to_top