काठमाडौं । दक्षिण कोरियाली कार निर्माता किया अमेरिका र युरोपमा पनि राम्रो मानिने कार ब्राण्ड हो । तर, नेपालको लागि आधिकारिक बिक्रेताले आफ्नो वेबसाइट समेत राम्रोसँग चलाएको पाइँदैन ।
कियाका गाडी नेपाली बजारमा बिक्री गर्दै आएको कन्टिनेन्टल ट्रेडिङले चलाइरहेको ‘https://kia.com.np’ मा उसैले बिक्री गर्ने कारको सूचीकरण गरेको समेत पाइँदैन । उसको वेबसाइटमा भित्र प्रवेश गर्दा किया सेल्टोसको विज्ञापन देख्न पाइन्छ । त्यो विज्ञापन बन्द गरेपछि होमपेजमा पुग्न सकिन्छ ।
होमपेजमा के३ सेल्टोसको तस्बिर छ भने माथि भेहिकल, बाइ र डिस्कभर किया गरी तीन क्याटगोरी छुट्टाइएको छ । जहाँ भेहिकलमा क्लिक गर्दा सेल्टोस र सोनेट दुई मोडल छ । यी दुई बाहेक अन्य कुनै पनि मोडल उपलब्ध छैन ।
जबकि, कियाले किया ईभी ९ र किया सिरोस ईभीको रूपमा बिक्री गर्दै आएको छ । कियाले उत्कृष्ट उत्पादन ठानेर किन्ने उपभोक्तालाई सूचना दिने एउटा वेबसाइट समेत अपडेट नराखेको कन्टिनेन्टल ट्रेडिङ गाडी किन्ने उपभोक्तालाई दिने सर्भिस पनि त्यही हालतको रहेको उपभोक्ताहरूको गुनासो रहँदै आएको छ ।
किया नेपालको सर्भिसको विषय बेलाबखत उठ्दै आएको छ । उसले १९ महिनासम्म एउटा गाडीलाई सर्भिस दिन नसकेको विषय त मेरोअटोले समाचारकै रूपमा प्रकाशित गरेको थियो ।
विद्युतीय कार बिक्रीमा निकै खराब ट्रयाक रेकर्ड रहेको कियाले यसअघि ४ मोडल आउडेट बनाइसकेको छ । किया सोल ईभी, किया निरो ईभी, किया ईभी ६ र किया ईभी ९ जस्ता मोडल बजारमा पूर्ण रूपमा असफल भएपछि कियाले ईभी ५ ल्याएको थियो । त्यो मोडल पनि बजारमा बिक्री नथाल्दै बन्द भयो ।
अहिले भारतीय उत्पादन किया सिरोस ईभी ल्याएर बिक्री गर्दै आएको कियाले नयाँ मोडल सिरोस ईभी पनि वेबसाइटमा लिस्टिङ समेत गरेको छैन । वेबसाइटमा लिस्टिङ नगर्नुको मुख्या कारण सम्भवतः सिरोस ईभी प्रति कन्टिनेन्टल ट्रेडिङको विश्वास नै नभएर पो हो कि ? त्यो कुरा कम्पनी नै जानोस् । तर, एउटा वेबसाइट दुरुस्त नराख्ने कम्पनीले गाडी बिक्रीपछि दुरुस्त सर्भिस दिन्छ भन्ने ग्यारेन्टी दिन सक्ने कुरै भएन ।

