गुडिरहेको बी०३एक्सबाट खस्यो ‘अन्डरफ्लोर स्टोरेज बक्स’

काठमाडौं । लीपमोटरको नयाँ एसयूभी बी०३एक्समा प्रयोग गरिएको प्लास्टिकको अन्डरफ्लोर स्टोरेज बक्स गाडी चलिरहेको अवस्थामा खसेको घटना बाहिर आएको छ । चीनमा ए१–० नामबाट बिक्री भइरहेको एसयूभीको स्टोरेज कम्पार्टमेन्ट अत्यधिक भार थेग्न नसकेर सडकमा खसेको दावी गरिएको छ ।

सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा गाडीको पछाडिको भागमा रहेको अन्डरफ्लोर स्टोरेज बक्स छुट्टिएर सडकमा छोइरहेको देखिन्छ । उक्त गाडी मालिलका अनुसार उनले स्टोरेज बक्समा बियरका केही कार्टुन राखेका थिए । गाडी गुडिरहेको अवस्थामा उक्त बक्स अचानक छुट्टिएर तल खसेको उनले बताएका छन् ।

उक्त घटनाका बारेमा लीपमोटरले अहिलेसम्म औपचारिक धारणा बाहिर ल्याएको छैन । चिनियाँ मिडिया कारन्यूज चाइना डटकमका अनुसार कम्पनीका प्रतिनिधिहरूले उक्त स्टोरेज कम्पार्टमेन्टमा अधिकतम ४० किलोग्राम माथि भार नराख्न भनेको उल्लेख गरेको छ ।

सामान्यतया पेट्रोल तथा डिजेल गाडीमा स्पेयर टायर राख्ने स्थानजस्तै देखिने उक्त अन्डरफ्लोर स्टोरेज कम्पार्टमेन्ट बी०३एक्समा प्लास्टिकबाट बनाइएको छ । परम्परागत गाडीमा यस्तो संरचना प्रायः धातुबाट निर्माण गरिने भए पनि लीपमोटरले तौल तथा उत्पादन लागत घटाउने उद्देश्यले प्लास्टिक प्रयोग गरेको हुन सक्ने अनुमान छ ।

गाडीधनीले बियरका धेरै कार्टुन राख्दा निर्धारित भार सीमा नाघेको र सडकमा गुड्दा उत्पन्न हुने कम्पनका कारण प्लास्टिकको संरचना बिस्तारै विग्रिएर अन्ततः खसेको हुन सक्ने बताइएको छ ।

चिनियाँ सञ्चारमाध्यम सिन ह्वाङ हेका अनुसार बी०३एक्सको प्रयोगकर्ता पुस्तिकामै उक्त स्टोरेज कम्पार्टमेन्टमा अधिकतम ४० किलोग्राम मात्रै भार राख्न भनिएको छ । साथै, क्षमताभन्दा बढी सामान नराख्न चेतावनीसमेत दिइएको छ ।

यहाँ उल्लेख गरिएको ४० किलोग्रामको सीमा गाडीको सम्पूर्ण बुट स्पेशका लागि नभई डिकीको भुइँमुनि रहेको अतिरिक्त स्टोरेज कम्पार्टमेन्टका लागि मात्र हो ।

चीनमा ए१० नामबाट बिक्री हुँदै आएको बी०३एक्स नेपालमा पनि बिक्री हुँदै आएको छ । नेपालमा बिक्री भइरहेको मोडलमा पनि त्यही अन्डरस्टोरेज छ । त्यसैले ४० केजी माथि सामान नराख्दा नै ठिक हुन्छ ।


Back_to_top