बाहिर आयो जेएसडब्लू मोटर्सको ‘लोगो’, ८ दिनपछि एसयूभी ल्याउँदै

काठमाडौं । भारतीय औद्योगिक समूह जेएसडब्लूले आफ्नो नयाँ अटोमोबाइल कम्पनी ‘जेएसडब्लू मोटर्स’को लोगो सार्वजनिक गरेको छ । कम्पनीले आगामी डिसेम्बर ३ मा ब्राण्डको औपचारिक सुरूआत गर्नुअघि नयाँ लोगो बाहिर ल्याएको हो ।

जेएसडब्लू मोटर्सको पहिलो उत्पादनका रूपमा ८ दिनपछि आउने ‘कम्ब्याट’ एसयूभीमा उक्त लोगो प्रयोग हुनेछ । ब्राण्डको औपचारिक सुरूआत र पहिलो गाडीको सार्वजनिक कार्यक्रम एकै दिन हुने बताइएको छ । नयाँ लोगो कम्पनीका संचार सामग्री, डिलरसिप तथा सर्भिस सेन्टरहरूमा समेत प्रयोग हुनेछ ।

के छ जेएसडब्लू मोटर्सको लोगोमा ?

जेएसडब्लू मोटर्सको नयाँ लोगोमा यसको मूल कम्पनी जेएसडब्लू ग्रुपको लोगोमा प्रयोग भएको पखेटाको आकृतिलाई आधार बनाइएको छ । यद्यपि, नयाँ लोगोमा केही परिवर्तन देख्न सकिन्छ ।

यसमा पखेटाको आकृतिलाई माथितर्फ उकासिएको स्वरूप दिइएको छ भने बीचको भागलाई तुलनात्मक रूपमा बाक्लो बनाइएको छ । पखेटाको आकृतिलाई गोलाकार घेराभित्र राखिएको छ । यसको माथिल्लो र तल्लो किनाराले गोलाकार सीमालाई समेत पार गरेको देखिन्छ ।

यसअघि सार्वजनिक हुनुअघि बाहिरिएको कम्ब्याट एसयूभीको स्पेयर ह्वील कभरमा समेत यही लोगो देखिएको थियो ।

लोगोमा प्रयोग गरिएको ‘जेएसडब्लू मोटर्स’ अक्षरको फन्ट भने मूल जेएसडब्लू ग्रुपको लोगोभन्दा फरक छ । ग्रुपको लोगोमा बाक्लो र इटालिक शैलीको अक्षर प्रयोग गरिएको छ भने मोटर्सको लोगोमा तुलनात्मक रूपमा फरक टाइपफेस राखिएको छ ।


Back_to_top