टीभीएस जुपिटरले बनायो कीर्तिमान, १ करोड युनिटको माइलस्टोन पूरा

काठमाडौं । टीभीएसको लोकप्रिय स्कुटर जुपिटरले १ करोड युनिट उत्पादनको माइलस्टोन पूरा गरेको छ । सन् २०१३ मा सार्वजनिक भएको टीभीएसको जुपिटर मोडलले करिब १३ वर्षको अवधिमा यो उपलब्धि हासिल गरेको हो ।

कम्पनीको तमिलनाडुस्थित होसुर उत्पादन केन्द्रबाट १ करोडऔँ युनिट स्कुटर उत्पादन भएसँगै जुपिटरले नयाँ कीर्तिमान बनाएको हो । यसमा जुपिटर ११० र १२५ दुवै मोडल समावेस छन् ।

कम्पनीका अनुसार जुपिटर सबैभन्दा छिटो १ करोड उत्पादनको आँकडा पार गर्ने मोडल बनेको छ । जुपिटरकोे पहिलो ५० लाख युनिट उत्पादन गर्न ९ वर्ष लगाएको थियो । तर, पछिल्लो ५० लाख युनिट उत्पादन गर्न कम्पनीलाई जम्मा ४ वर्ष लागेको छ । यसले पछिल्लो समय बजारमा जुपिटरको लोकप्रियता र माग तीव्र रूपमा बढेको देखाउँछ ।

सुरूवाती वर्षमै ५ लाख बिक्रीको आँकडा पार गर्न सफल जुपिटर अहिले भारतको दोस्रो ठूलो स्कुटर ब्राण्डका रूपमा स्थापित छ । कम्पनीका अनुसार टीभीएसले भारतमा बिक्री गर्ने प्रत्येक तीन स्कुटरमध्ये एउटा जुपिटर रहेको छ ।

पहिले ११० सीसी क्षमतामा मात्रै उपलब्ध जुपिटरलाई कम्पनीले सन् २०२१ मा यसलाई १२५ सीसी सेग्मेन्टमा विस्तार गरेको थियो । त्यसपछि सन् २०२४ मा ठुलै अपडेटसहित नयाँ पुस्ताको जुपिटर ११० पनि सार्वजनिक गरिएको थियो ।

नयाँ संस्करणमा परिमार्जित डिजाइन, आधुनिक फिचर र पारिवारिक प्रयोगलाई लक्षित सुविधा थप गरिएको छ । हाल जुपिटर ११० र १२५ दुई इन्जिन विकल्पमा विभिन्न भेरियन्टमा उपलब्ध छन् ।


Back_to_top