काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगल क्षेत्रमा २ किलोमिटर लामो भायडक्ट सडक (फ्लाइओभर) बनाउन १८ कम्पनी इच्छुक देखिएका छन् ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले टिकौलीमा २ किमी फ्लाइओभरसहित ७० किमी हेटौंडा-नारायणगढ सडक स्तरोन्नतिका लागि भदौमा ग्लोबल टेन्डर आह्वान गरेको थियो । जसमा तेस्रो प्याकेज टिकौली-गोन्द्राङ ३.८२ किमी (भायडक्टसहित) निर्माणका लागि १८ कम्पनीले आवेदन दिएका हुन् ।
आवेदन दिनेमा नेपाल, भारत, चीन लगायत देशका कम्पनी रहेका छन् । एडीबी निर्देशनालयका अनुसार हाल आवेदक कम्पनीहरूको प्राविधिक मूल्यांकन भइरहेको छ । प्राविधिक मूल्यांकनमा छनोट हुने कम्पनीहरू आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढाइने निर्देशनालयले जनाएको छ ।
टिकौली क्षेत्रमा सवारी साधनको ठक्करबाट वर्षेनी कयौं वन्यजन्तु मर्ने गरेकाले सुरक्षाका लागि भायडक्ट सडक निर्माण गर्न लागिएको हो । यो संरक्षित क्षेत्रमा बन्ने नेपालकै पहिलो भायडक्ट सडक समेत हो ।
टिकौली जंगलमा समानान्तार रूपमा २ किमी लामो (एप्रोच सडक बाहेक) दुई वटा भायडक्ट निर्माण हुनेछन् । जसमा एउटा पूर्वतर्फ जाने र अर्को पश्चिमतर्फ आउने हुनेछ । साथै, भायडक्टको दुवैतर्फ ६००/६०० मिटर लामो एप्रोच सडक निर्माण गरिने छ ।
एकतर्फी भायडक्टको चौडाइ ११ मिटर रहने छ । जसमा ७.५ मिटरमा सवारी साधन गुड्ने र २.७५ मिटर फराकिलो फुटपाथ रहने छ । बाँकी भागमा भायडक्टका संरचना रहने छन् । भायडक्ट माथिबाट सवारीसाधन गुड्ने र तलबाट वन्यजन्तु आवतजावत गर्न मिल्ने गरी निर्माण गरिने छ । वन्यजन्तुलाई सहजै आवतजावतका लागि ७/७.५ मिटर भर्टिकल क्लियरेन्स (उचाइ) राखिएको छ ।
२ किमी लामो फ्लाइओभरमा कुल ६७ वटा पिलर रहने छन् । यसको लागत करिब ७ अर्ब रुपैयाँ रहेको छ ।
सडक विस्ताका लागि ३३ कम्पनीको आवेदन
हैटौंडा नारायणगढ सडक विस्तार अन्य दुई प्याकेजका लागि ३३ कम्पनीले आवेदन दिएका छन् । राप्तीपुल-लोथरपुल (पहिलो प्याकेज) ३९.९२ किमी सडक विस्तारका लागि १६ र लोथरपुल- टिकौली (दोस्रो प्याकेज) २६.१८ किमीका लागि १७ कम्पनीले आवेदन दिएका छन् ।
हाल दुई लेनमा रहेको रहेको हेटौँडा-नारायणगढ सडक अब कम्तीमा ४ लेन फराकिलो बनाउन लागिएको हो । यो सडक कुल ५० मिटरसम्म फराकिलो हुनेछ । सहरी क्षेत्रको कुल १९.३०५ किमी सडक ६ लेनको बनाइने छ । साथै, मुख्य सडकको दुवैतर्फ सर्भिस लने समेत निर्माण हुन्छे ।
अर्धसहरी क्षेत्रको १६.७ किमी ३७.४ मिटर र ग्रामीण तथा वन क्षेत्रमा ३३.९१५ किमी २४ मिटर फराकिलो हुनेछ । हेटौंडा-गोद्राङ खण्डमा फ्लाइओभर बाहेक अण्डरपास, पुल, कल्भर्ट लगायत संरचना निर्माण गरिने छ । जसमा १० वटा पुल, १० वटा बक्स कल्भर्ट, ५ वटा ओभर/अण्डरपास निर्माण गरिने छ । सिमलटाडीमा (२ वटा), खैरहनी, शान्ति चोक र भानु चोकमा कुल ५ वटा अण्डरपास बनाइने छ । साथै, हाल रहेका ११ पुलहरू समेत स्तरोन्नति गरिने छ ।
यो सडक ठेक्का लागेको ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणपछि ५ वर्षसम्म सम्बन्धित कम्पनीले नै मर्मत सम्भार गर्नुपर्नेछ ।
यो सडक एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग र नेपाल सरकारको लगानीमा चार लेनमा स्तरोन्नति गर्न लागिएको हो । यसको कुल अनुमानित लागत करिब ३५ अर्ब रुपैयाँ रहेको छ । सोमध्ये १८ प्रतिशत नेपाल सरकार र ८२ प्रतिशत एडीबीले ऋण उपलब्ध गराउने छ ।

