काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले चीनमा उत्पादन गरेको आयोनिक भी सेडान अब एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरईभी) प्रविधिमा ल्याउने भएको छ ।
प्योर इलेक्ट्रीक भर्सनको बिक्री अपेक्षा अनुसार हुन नसकेपछि कम्पनीले आयोनिक भीलाई रेन्ज एन्जाइटी कम गर्ने उद्देश्यसहित नयाँ पावरट्रेनमा ल्याउने भएको हो ।
कम्पनीले आयोनिक भी ईआरईभीमा ल्याउन चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा विवेदन दिएको छ । सवारी दर्ता तथा स्वीकृति प्रक्रियाका क्रममा नयाँ संस्करणका प्राविधिक विवरण सार्वजनिक भएका हुन् ।
हुन्डाईले चिनियाँ कम्पनी बीएआईसीसँग मिलेर आयोनिक भी उत्पादन गर्दै आएको छ । नयाँ ईआरईभी संस्करणमाबीएआईसी मोटरले बनाएको १.५ लिटरको ए १५६ ए १ पेट्रोल इन्जिन प्रयोग रहने छ । यसले ९४ हर्सपावर शक्ति उत्पादन गर्छ । यो इन्जिन बीएआईसीकै आर्कफक्स ब्राण्डका विभिन्न मोडलमा समेत प्रयोग हुँदै आएको छ ।
उक्त इन्जिनले ब्याट्री चार्ज गर्न आवश्यक विद्युत् उत्पादन गर्नेछ । यसले प्योर ईभीमा जस्तो ब्याट्रीको चार्ज सकिने चिन्ता कम गर्दै लामो दूरीको यात्रा सहज बनाउने अपेक्षा गरिएको छ ।
आयोनिक भी ईआरईभीमा पछाडिको एक्सलमा १५१ किलोवाटको विद्युतीय मोटर जडान गरिने छ । उक्त मोटरले अधिकतम २०२ हर्सपावर शक्ति उत्पादन गर्छ । यो प्योर ईभी भेरियन्टकोभन्दा कम हो । यसको प्योर ईभीमा १६८ किलोवाटको मोटर छ ।
नयाँ ईआरईभीमा सीएटीएलले उत्पादन गरेको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग हुनेछ । तर, ब्याट्रीको क्षमता र यसले दिने रेन्जबारे कम्पनीले विवरण सार्वजनिक गरेको छैन ।
नयाँ ईआरईभी संस्करणको बाहिरी डिजाइन, आकार र क्याबिन फिचर लगायत सुविधा लगभग उस्तै रहने छन् ।
आयोनिक भी प्योर ईभी संस्करण गत सेप्टेम्बर २९ मा चीनमा सार्वजनिक भएको थियो । यसको मूल्य करिब १६ हजार ४९० देखि २० हजार ९९० अमेरिकी डलर तोकिएको थियो ।
आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्य हुँदाहुँदै पनि यसको बिक्री कमजोर देखिएको छ । चाइना ईभी डाटाट्रयाकरका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्ममा यो गाडी ८७० युनिट मात्रै बिक्री भएको थियो।

