नेपालमा टोयोटा प्राडो र हाइलक्सको टक्कर, कति आयो ल्याण्डक्रुजर ?

काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले सन् २०२६ को साढे १० महिनामा विभिन्न ६ मोडलका गाडी नेपाल ल्याएको छ । कम्पनीले ल्याएको ६ मोडल मध्ये रोचक आयात प्राडो र हाइलक्समा देखिन्छ ।

नेपालमा टोयोटा भन्ने बित्तिकै महँगो मूल्य, बलियो गाडी र पर्शानालिटी सिम्बोल बन्दै आएको छ । जस्तोसुकै बाटोमा ढुक्कले लैजान सकिने भएको कारण पैसा भएका मानिसहरूको रोजाइमा टोयोटा पर्छ ।

विश्वकै ठूलो कार निर्माता टोयोटाका उत्पादन सन् २०२६ मा २२६ युनिट आयात भएको देखिन्छ । जसमध्ये ७७ युनिट ल्याण्ड क्रुजर एलसी २५० प्राडो आयात भएको छ । टोयोटाको कुल आयातमा एलसी २५० प्राडोको हिस्सा ३४ प्रतिशत देखिन्छ ।

ल्याण्ड क्रुजर प्राडोभन्दा केबल एक युनिट कम अर्थात् ७६ युनिट हाइलक्स पिकअप आयात भएको छ । यी दुई मोडलले मात्रै कुल आयातमा करिब ६८ प्रतिशत हिस्सा ओगटेको छ ।

तेस्रो स्थानमा ल्याण्ड क्रुजर एलसी ३०० रहेको छ । साढे १० महिनाको अवधिमा ३१ युनिट ल्याण्ड क्रुजर एलसी ३०० आयात भएको हो । यो टोयोटाले नेपालमा बिक्री गर्ने सबैभन्दा महँगो मोडल पनि हो ।

त्यसैगरी टोयोटाको लोकप्रिय एसयूभी र्याभफोर २७ युनिट आयात भएको छ । पछिल्ला दिनमा ईभीको हिस्सा बढ्दै जाँदा र्याभफोर जस्ता सफल एसयूभीको बिक्री निकै कमजोर बनेको छ । र्याभफोरको यो आयात पनि नयाँ जेनेरेशन मोडल बिक्री सुरू भएको कारण सम्भव भएको हो ।

टोयोटाले यस अवधिमा भारतमा उत्पादन भएको फच्र्युनरका १४ युनिट आयात गर्दा स्पोर्टी ह्याचब्याक जीआर यारिस पनि एक युनिट आयात गरेको देखिन्छ ।

असारमा सबैभन्दा धेरै आयात

यूटीएसले नेपाल ल्याएको टोयोटाका गाडी महिनागत आयात हेर्दा सबैभन्दा धेरै असारमा आएको छ । असारमा कम्पनीले ६२ युनिट गाडी ल्याएको देखिन्छ । त्यसपछि भदौमा ४४ युनिट आयात गरेको थियो ।

जेठ र असोज महिनामा समान ३०/३० युनिट टोयोटा गाडी नेपाल ल्याएको देखिन्छ । कात्तिकमा पनि २८ युनिट आयात हुँदा साउनमा ९ युनिट मात्रै आयात भएको थियो ।

त्यस्तै, २०८२ माघ र फागुन महिनामा समान ८/८ युनिट, वैशाखमा ६ युनिट र चैतमा १ युनिट मात्रै टोयोटाका गाडी आयात भएका थिए ।

महँगो मूल्यका बाबजुद राम्रो आयात

टोयोटाका एसयूभीदेखि पिकअपसम्म अन्य प्रतिस्पर्धीभन्दा निकै महँगा छन् । अहिले कम्पनीले बिक्री गर्ने फर्च्युनरको मूल्य म्यानुअलको २ करोड ७० लाख रुपैयाँ छ भने अटोमेटिक भेरियन्ट किन्न २ करोड ८३ लाख रुपैयाँ तिर्नुपर्छ ।

ल्याण्ड क्रुजर २५० पनि दुई भेरियन्टमा उपलब्ध छ । यसको एआर भेरियन्टको मूल्य ३ करोड २२ लाख रुपैयाँ छ । जबकि लक्जरी भेरियन्टको मूल्य ३ करोड ७९ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

ल्याण्ड क्रुजर एलसी ३०० भने उपभोक्ताले प्रयोग गर्न चाहने एसोशरिजहरू छनोट गरेर मूल्य निर्धारण गर्न सक्छन् । त्यसैले यसको फुल कस्टुमाइज मोडलको मूल्य ६/७ करोड रुपैयाँसम्म पुग्न सक्छ ।

हाइलक्स पिकअप म्यानुअलको मूल्य १ करोड ५२ लाख र अटोमेटिकको मूल्य १ करोड ५५ लाख रुपैयाँ पर्छ ।


Back_to_top