काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड एसएआइसी मोटरको स्वामित्वमा रहेको एमजीले अब चीनमा विद्युतीय सवारी साधन (ईभी) मात्रै उत्पादन गर्ने भएको छ ।
एमजीले सन् २०२७ जनवरी १ देखि चिनियाँ बजारमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन उत्पादन बन्द गर्ने गर्ने घोषणा गरेको हो । एमजीले शुक्रबार आयोजित २०२६ ग्वाङ्झाउ अटो शोका क्रममा यस्तो घोषणा गरेको हो ।
कम्पनीका अनुसार विश्वभर न्यू इनर्जी भेहिकल (एनईभी) विकास र प्रयोग बढ्दै गएको अवस्थामा आफ्नो उत्पादन रणनीतिमा परिवर्तन गर्न लागिएको हो ।
कम्पनीले अब आइस गाडी उत्पादन नगर्ने भए पनि हाल प्रयोग गरिरहेका ग्राहकलाई गाडीको पूरा आयु अवधिभर सर्भिसिङ र स्पेयर पार्र्टस सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
एमजीका अनुसार चीनमा आईसीई सवारीसाधन उत्पादन बन्द गर्ने निर्णयले विदेशका बजारमा उपलब्ध पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई तत्काल असर गर्ने छैन । विभिन्न देशको ऊर्जा संरचना, उपभोक्ताको रुचि, सरकारी नीतिलाई ध्यानमा राख्दै कम्पनीले सम्बन्धित बजारअनुसार आफ्नो विद्युतीय सवारी रूपान्तरण अघि बढाउने जनाएको छ।
पछिल्लो समय एमजीको एनईभी बिक्री उल्लेख्य रूपमा बढिरहेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२६ अक्टोबरमा एमजीका विश्वभर ८५ हजारभन्दा बढी एनईभी बिक्री भएका थिए । त्यसमध्ये चीनमा मात्रै ३१ हजारभन्दा बढी एनईभी बिक्री भएका थिए ।
विदेशी बजारमा पनि एमजीले उल्लेख्य सफलता हासिल गरेको छ । युरोपमा १० लाखभन्दा बढी सवारीसाधन बिक्री गर्ने एमजी पहिलो चिनियाँ अटोमोबाइल ब्राण्ड बनेको छ । यसअघि चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाइडीले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन उत्पादन बन्द गरिसकेको छ ।
बीवाइडीले सन् २०२२ मार्चदेखि आईसीई सवारीसाधन उत्पादन पूर्ण रूपमा बन्द गर्दै बीईभी र प्लग–इन हाइब्रिड मोडल उत्पादनमा ध्यान केन्द्रित गरिरहेको छ ।

