हुन्डाई ग्रान्ड आई १० नियोस ५ दिनपछि सार्वजनिक हुने, यस्ता छन् विशेषता

काठमाडौं । भारतीय बजारमा अगस्त ७ तारिखबाट बुकिङ्ग खुल्ला भएको हुन्डाई ग्रान्ड आई १० लाई कम्पनीले अगस्त २० तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो चर्चित ह्याचव्याक कारको पछाडि नियोस थप गरेको छ ।

११ हजार भारु लिएर बुकिङ्ग सुरु भएको नयाँ ग्रान्ड आई १० ले निकै राम्रो बुकिङ्ग पाएको खुलाएपनि कति यूनिट भन्ने खुलाएको छैन । 

नेपाली बजारमा समेत बिक्री भइरहेको यो मोडलको नयाँ संस्करण अगस्ट २० मा भारतमा सार्वजनिक भएपछि नेपाली बजारमा समेत आउने छ । 

ग्रान्ड आई–१० नियोसमा १.२ लिटर कप्पा इन्जिन दिइएको छ । यसले ८३ बीएच पावर उत्पादन गर्छ भने ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

साथै, कम्पनीले यसलाई १.२ लिटर सिआरडीआई डिजेल इन्जिनमा समेत ल्याउने छ, उक्त डिजेल इन्जिनले ७२ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको सेन्टर कन्सोलमा निकै ठूलो परिवर्तन गरिएको छ । नयाँ इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वीलले गाडीलाई निकै प्रिमियम बनाएको छ । 

यसमा हुन्डाईको कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । कारमा हुन्डाई भेन्यूको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध रहेको छ । 

ग्रान्ड आई–१० को एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जडान गरिएको छ । 

स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । यसमा मेसिन कट अलोय ह्वील लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता पाउन सकिन्छ । 


Back_to_top