भिसिटीएसको बिषयमा नाडाले भेट्यो राजश्व अनुसन्धान विभागका महानिर्देशक

काठमाडौं । नयाँ नेतृत्व आएसँगै नाडाले आफ्नो क्रियाकलाप बढाएको छ । सवारीसाधनको बिक्रीमा आएको कमी र सरकारी नीति निर्मातासँग नाडाको धारणा राख्न नयाँ कार्यसमिति दौडधुपमा रहेको छ ।

हिजो मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपाललसँग भेटघाट गरेको नाडा कार्यसमितिले आज राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग भेटघाट गरेको छ ।

नाडाले मैनालीसँगको भेटमा सरकारले व्यावसायिकक्षेत्रलाई पारदर्शी र स्वच्छ बनाउने भन्दै ल्याएको भेहिकल कन्साइनमेनट ट्रयाकिङ सिस्टम (भिसिटीएस) को कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे छलफल गरेको जनाएको छ ।

उक्त अवसरमा महानिर्देशक मैनालीले भिसिटीएस व्यवसायीहरु कै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताएको नाडाले जारि गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भएपछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ’, मैनालीको भनाई थियो ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भिसिटीएस बारे अटोमोवाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन आफुहरुले एक महिना भित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट विज्ञ पठाइदिन अनुरोध गरेका थिए ।

उक्त छलफलमा नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाललगायतको उपस्थिति रहेको थियो ।


Back_to_top