काठमाडौं । सडक विभागले ८ स्थानमा जडान गरेको ट्राफिक लाइटहरु बल्न थालेका छन् । हाल ५ स्थानका ट्राफिक लाइट सञ्चालनमा आएका हुन् ।
सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजनल इन्जिनियर बन्दना आचार्यले हालसम्म ५ स्थानमा रहेको ट्राफिक लाइट सञ्चालनमा आएको बताइन् ।
उनका अनुसार अझै ३ स्थानमा रहेको ट्राफिक लाइट सञ्चालनमा आउन बाँकी रहेका छन् । मित्रपार्क, कालिमाटी र तिनकुनेमा रहेको ट्राफिक लाइट सञ्चालनमा आउन बाँकी रहेका छन् । ति स्थानमा पनि केही दिन भित्रै सञ्चालनमा आउने आचार्यले बताइन् ।
‘हामीले ५ स्थानमा रहेका ट्राफिक लाइट सञ्चालनमा ल्याएका छौं, अब बाँकी ३ स्थानमा पनि चाँडै बल्ने छ,’ आचार्यले मेरोअटोसँग भनिन् ।
हाल पुरानो बानेश्वर, नयाँ बानेश्वर, गौशाला र बागबजारमा जडान भएका ट्राफिक लाइट सञ्चालनमा आएका हुन् ।
तिनकुनेमा भने विद्युतको तार जोड्न बाँकी भएकाले त्यसमा बत्ती बाल्न केही समय लाग्ने उनले बताइन् ।
ट्राफिक लाइट जडानका लागि विभागले प्रजील कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । प्रजीलले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर पाएको थियो ।
सिंहदरबार, पद्मोदयमोड, तिनकुने, कालिमाटी, बागबजार, गौशला, मित्रपार्क र पुरानो बानेश्वरमा ट्राफिक लाइट जडान तथा मर्मत गरिएको छ । तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिएको हो भने अन्य स्थानमा रहेका पुरानै ट्राफिक लाइट मर्मत गरि सञ्चालनमा ल्याइएका हुन् ।
ट्राफिक लाइट संचालनमा आएसँगै ट्राफिकले धुलो खाँदै गर्नुपरेको काम लाइटले गर्नेछ ।

