काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ ।
विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो ।
सडक विभागको पुल महाशाखाका प्रमुख दिपक कुमार भट्टराईका अनुसार महाशाखाले देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सबैभन्दा सुन्दर पुलहरु निर्माण गर्न लागेको हो । जसअनुसारको पहिलो पुल नारायणी नदीमा निर्माण गर्न लागिएको उनले बताए ।
‘अबको एक÷दुई हप्ताभित्रमा चीनका पुल विज्ञ डा. चेन नेपाल आउने छन् । त्यसपछि हामीले उहाँसँगको परामर्शको आधारमा विशेष प्रपोजल तयार पार्छौं । त्यसपछि त्यो प्रोपोजल मन्त्रालयमा पेश हुन्छ ।’ भट्टराईले मेरोअटोसँग भने ।
मन्त्रालयले उक्त प्रोपोजललाई स्विकृत गरेपछि डिपीआर निर्माणको काम सुरु गर्ने इन्जिनियर भट्टराईले मेरोअटोलाई जानकारी दिए ।
आगामी आर्थिक वर्षको मध्यतिरसम्ममा पुलको डिपीआर तयार हुन्छ । त्यसपछि प्रक्रियाअनुसार काम सुरु गर्ने उनले बताए । उनी भन्छन्, २०७६ को मंसिर÷पौष महिनासम्ममा डिपीआर तयार भैसक्नेछ ।
आगामी पाँच वर्षभित्रमा नयाँ पुल निर्माण सम्पन्न हुनेसमेत प्रमुख भट्टराईले दावी गरे ।
पुल निर्माणका लागि आवस्यक जनशक्ति तयार गर्न महाशाखाका इन्जिनियरहरुलाई आवस्यक तालिमसमेत दिने कार्य भइरहेको प्रमुख भट्टराईले जानकारी दिए ।
विश्व बैंकले महाशाखाका प्रविधिज्ञहरुको क्षमता अभिवृद्धि गर्ने र दुवैतर्फ घना वस्ती भएका १० नदीहरुमा सिग्नेचर पुल निर्माणमा सहयोग गर्ने रुचि देखाएपछि काम अगाडि बढेको उनले जानकारी दिए ।
कस्तो हुन्छ सिग्नेचर पुल ?
प्रमुख भट्टराईका अनुसार चारसय मिटर लामो सो पुल चार लेनको हुनेछ । अहिले भइरहेको पुलसँग जोडेर उत्तर वा दक्षिणतर्फ पुल बनाइनेछ । अत्याधुनिक प्रविधी प्रयोग गरेर बनाइने पुल निकै आकर्षक हुनेछ ।
देशका राजमार्गमा एक हजार ७०० पुल रहेका छन् । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका १० स्थानमा सिग्नेचर पुल निर्माण गर्ने तयारी भैरहेको छ । नारायणी नदीमाथिको हाल रहेको पुलको आयु ७० वर्ष छ । अब बन्ने पुल भने एक सय वर्ष आयुको हुने बताइएको छ ।
डिजाइन सम्पन्न भएपछि यकिन खर्च रकम आउने भएपनि यो पुल बनाउन करिब १ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
विसं २०३८ साल अघि नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । उनी भन्छन्, अब भने नारायणी नदीले पनि आनन्दको स्वास फेर्न पाउँछ ।


