काठमाडौं । नेपाली सडकमा १० हजारभन्दा बढी इलेक्ट्रीक कार गुड्न थालेका छन् । सन् २०१० देखि नै नेपालमा विद्युतीय साधन आयात सुरू भएको भए पनि पछिल्लो ५ वर्षमा तीव्र आयात वृद्धि हुँदा विद्युतीय साधनको प्रयोग बढेको हो ।
सुरूमा रेभा र महिन्द्रा ईटुओ जस्ता साना विद्युतीय कार नेपाल प्रवेश गरेको भए पनि पछिल्ला ५ वर्ष ईभीको आयात र प्रयोग तीव्र विस्तार भएको हो ।
हुन्डाई कोना इलेक्ट्रीकले ठूला विद्युतीय कारको बजारलाई रफ्तार दिएसँगै एमजी, किया, बीवाइडी, टाटा, नेटा र सेरेस जस्ता ब्राण्डसम्म आइपुग्दा करिब ११ हजार यूनिट विद्युतीय कार बजारमा गुड्न थालिसकेका छन् ।
विद्युतीय कारको प्रयोग तीव्र वृद्धिमा पेट्रोलियम कारको तुलनामा निकै सस्तो हुनु, नेपालकै आफ्नै बिजुली उत्पादन बढ्नु, गाडीको संचालन लागत कम हुनु र सर्भिस लगायतमा आउने खर्च अत्यन्त न्यून हुनु मुख्य कारण छन् ।
कुन वर्ष कति आयात ?

आर्थिक वर्ष २०७६/७७ मा कुल ५७५ यूनिट विद्युतीय कार आयात भएका थिए । त्यतिबेला मुख्य आयात हुन्डाई र एमजीको थियो । थोरै आयात कियाले पनि गरेको समयमा आयातको संख्या देखेर तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कर वृद्धि गरेका थिए ।
कर वृद्धिसँगै आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय कारको आयात ठप्पप्रायः भयो । खतिवडापछि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले कर घटाएपछि बाँकी अवधिमा २४९ यूनिट विद्युतीय कार आयात भयो ।
त्यसपछि पुरानै करका दरलाई यथावत राख्दै मोटर पावरमा थोरै छेडखानी गरेका अर्थमन्त्री जनार्दश शर्माको निर्णयले ठूलो समस्या पारेन । त्यसैले आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८०७ यूनिट विद्युतीय कारहरू आयात भयो ।
बढ्दो ईभी आयतले २०७९/८० मा झनै रफ्तार लियो । उक्त एक आर्थिक वर्षमा ४ हजार ५० यूनिट ईभी आयात भयो । यसले नेपालको कार बजारलाई उथलपुथल बनायो ।
चालु आर्थिक वर्षको अवस्था थप आक्रमक देखिन्छ । साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा अहिलेसम्म ३ हजार ६८६ यूनिट विद्युतीय कार नेपाल आइसकेको छ । यस अवधिमा आएको केही यूनिट भने अहिले बजारमा विद्युतीय माइक्रोबसको रूपमा चल्दै आएका ११ सिटभन्दा कम क्षमताका विद्युतीय भ्यान पनि छन् ।
समग्रमा, नेपाली सडकमा विगत साढे चार वर्षमा १० हजार ३६७ यूनिट विद्युतीय कार आयात भएका छन् । त्यसअघि पनि झण्डै ३०० हाराहारी विद्युतीय गाडी नेपाल आएको अनुमान गर्न सकिन्छ ।


