न्यूरोड जानेले मोटरसाइकल कहाँ पार्किङ गर्ने ? यस्तो छ ब्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । पार्किङ रोक लगाएसँगै न्यूरोडमा काम विशेषले जानेहरुको पार्किङ कहाँ भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ ।

महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । पुरानो बसपार्कमा बनिरहेको भ्यू टावरको अन्डर ग्राउण्डमा पार्किङ ब्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।

पाण्डेका अनुसार काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे र ७०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने छ ।

महानगर प्रहरी प्रमुख पाण्डेले मंगलबारदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने काम भइरहेको बताए । उनले भने, ‘पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ भएको छ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।


Back_to_top