काठमाडौं । सिजी मोटर्सले नेपालमा हिरोको आधिकारीक बिक्री सुरु गर्ने घोषणासँगै यहि एसेम्बल प्लान्ट बनिरहेको जानकारी दिएको छ । कम्पनीले नवलपुरको सिजी ग्राम भित्रै हिरोको प्लान्ट बनाइरहेको हो ।
चौधरी ग्रुपले नवलपुरमा नै वाइवाइ, सिजी इलेक्ट्रोनिक्स र एलजीका होम अप्लाइन्सेसहरु उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो औद्योगिक ग्राम भित्रै हिरोको प्लान्ट निर्माण गरिरहेको हो ।
‘अहिले एसेम्बल प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो लटको लागि एसेम्बल किटको आयात पनि भयो । सम्भवत अबको दुई महिना भित्रै फाइनल उत्पादन बजारमा ल्याउने छौं’, सिजी मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक संजालमा एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘सिजी मोटर्सले हिरो मोटोकर्पसँग रणनीतिक साझेदारी सुरु गरेको छ ।’

चौधरीले सेयर गरेको तस्बिरमा पनि एक्सपल्स २०० फोर भी, कम मूल्यको स्प्लेन्डर र नयाँ स्कुटर जुमको देखाइएको छ ।
पहिलो मोडल एक्सपल्स २०० फोर भी
सिजीले नेपालमै एसेम्बल गर्ने पहिलो मोडल एक्सपल्स २०० फोर भी हुनेछ । युवा पुस्ताले अत्याधिक रुचाएको एक्सपल्स २०० फोर भी नेपालमै उत्पादन भएपछि मूल्य पनि किफायती हुन सक्नेछ ।
यसअघि नेपाली बजारमा ४ लाख ५२ हजार रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको एक्सपल्स २०० फोर भी नेपालमै बन्ने भएपछि कति मूल्य कम भएर आउने छ भन्ने धेरैको चासो हुनसक्छ ।
यसको मूल्य र बजारमा ल्याउने मितिको विषयमा कम्पनीले कुनै आधिकारीक जानकारी दिएको छैन । कम्पनीले हिरोको जुम नामक नयाँ स्कुटर पनि नेपालमै एसेम्बल गर्नेछ । हिरोको प्लान्टमा वार्षिक ७५ हजार यूनिट मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको बताइन्छ ।
पहिलो लक्ष्य पार्टस् सप्लाई
सिजीले नेपालमा बिक्री सुरु गर्नुअघि नै पार्टस् ल्याउने तयारी थालेको छ । त्यसको लागि यसअघि हिरोका उत्पादन बिक्री गर्दै आएका डिलरहरुसँग कुरा भइसकेको कम्पनी स्रोतले बतायो ।
‘हामीले डिलरहरुसँग कुरा गरिसकेका छौं । केही बाहेक अन्य डिलरलाई निरन्तरता दिने योजना बनेको छ । उनिहरुको मध्यमबाट सुरुमा स्पेयर पार्टस्को समस्या समाधान गर्छौ । त्यसपछि मात्रै मोटरसाइकल र स्कुटर बजारमा आउने छ । त्यसमा हिरो मोटोकर्पले पनि हामीलाई सहयोग गरिरहेको छ’, कम्पनी स्रोतले भन्यो ।
हिरोले विगत एक वर्षदेखि पार्टस् नदिदा नेपालमा मोटरसाइकल र स्कुटर चढ्नेहरुले ठूलो समस्या भोग्दै आएका थिए ।

