काठमाडौं । अहिले नेपाली अटोमोबाइल बजारमा विद्युतीय कार बाहेक अरूको चर्चा छैनभन्दा फरक पर्दैन । साना ह्याचब्याक होस् वा ठूला एसयूभी सबैको पहिलो छनोट ईभी बन्दै आएको देखिन्छ ।
बजारमा बढ्दो मागसँगै गाडी बिक्रेता कम्पनीहरूले पनि एकपछि अर्को गाडी बजारमा उपलब्ध गराउँदै आएका छन् । मध्यम आय भएका मानिसको रोजाइमा पर्ने ह्याचब्याक कार सेग्मेन्टमा पनि अहिले तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
ह्याचब्याक कार सेगमेन्टमा मिनी कारदेखि ठूलो बीवाइडी डल्फिन र एमजी-४ सम्मका मोडल उपलब्ध छन् । यसमा सबैभन्दा बलियो सेग्मेन्ट ३० लाख रुपैयाँ आसपास मूल्य भएको मोडलहरू देखिएका छन् ।
यदि, तपाईं पनि विद्युतीय ह्याचब्याक कार खोज्दै हुनुहुन्छ भने टाटा टियागो ईभी, डोङफेङ नामी ईभी र लीपमोटर टी-०३ मोडल मुख्य छनोटमा पर्छन् । अहिले बजारमा रहेका यी तीन मध्ये लीपमोटरको टी-०३ विल्कुलै नयाँ मोडल हो । यसको डेलिभरी अहिलेसम्म सुरू भएको छैन ।

नेपाली बजारमा उपलब्ध उस्तै मूल्य रहेका यी तीन मोडलमा भएका फरक हामीले यहाँ छुट्टाउने कोशिस गरेका छौं ।
मूल्य
लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले टी-०३ लाई एउटा मात्रै भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।
त्यसैगरी, टाटा टियागो ईभी विभिन्न दुई भेरियन्टमा उपलब्ध छ । यसको सुरूवाती एक्सटी भेरियन्टको मूल्य २७ लाख ४९ हजार र जेडएक्स प्लस टेक लग्जरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
डोङफेङ नामीको विभिन्न तीन भेरियन्ट उपलब्ध छ । जसमा नामी ई-१ को मूल्य ३० लाख २४ हजार, ई-२ को ३२ लाख ४९ हजार र ई-३ को ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

साइज
मूल्य अनुसारको साइज भएन भने पैसा खर्च गर्न धेरैलाई कठिन हुन्छ । त्यसैले यी तीन कारको साइज पनि निकै महत्वपूर्ण हुन्छ । टाटा टियागो ईभीको लम्बाइ ३७८१ एमएम, चौडाइ १६७७ एमएम र उचाइ १५३६ एमएम छ । यसमा २४०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
लीपमोटरको टी-०३ को लम्बाइ ३६२० एमएम, चौडाइ १६५२ एमएम र उचाइ १५७७ एमएम छ । यसमा पनि २४०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
साइजको आधारमा सबैभन्दा ठूलो ह्याचब्याक नामी हो । यसको लम्बाइ ४०३० एमएम, चौडाइ १८१० एमएम र उचाइ १५७० एमएम छ । यसमा २६६० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

मोटर पावर
मोटर पावरलाई सरकारले कर निर्धारणको मापदण्ड बनाएको कारण हामी कहाँ मोटर साइजको पनि खुबै चर्चा हुन्छ । टाटा टियागोमा सबैभन्दा कम कर लाग्ने सेग्मेन्ट ५० किलोवाटभन्दा कम क्षमताको मोटर छ । टाटाले टियागोमा ४८ किलोवाट पीकटर्क भएको मोटर दिएको छ ।
अन्य दुई मोडल लीपमोटर टी-०३ र डोङफेङ नामीमा समान ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।
ब्याट्री साइज
कम बजेटमा सबैभन्दा ठूलो ब्याट्री लीपमोटर टी-०३ मा पाउन सकिन्छ । कम्पनीले यसमा ३७.३ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । नामी ह्याचब्याकमा ३१.४५ र ४२.३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । ठूलो ब्याट्री टप भेरियन्टमा मात्रै उपलब्ध छ ।
सर्वाधिक बिक्री भएको टियागो ईभीमा सबैभन्दा सानो ब्याट्री छ । यसमा २४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

