बलम्बुमा मुआब्जा वितरण नहुँदा सुरुङमार्ग जोड्ने फ्लाईओभर निर्माण रोकियो

काठमाडौं । नागढुंगा सुरुङमार्ग अन्तर्गत सतुङ्गलमा बन्ने फ्लाई ओभर मुआब्जा वितरणको कारण अघि बढ्न सकेको छैन । मुख्य सडकदेखि सुरुङमार्ग प्रबेशद्धारसम्म बनाउनु पर्ने फ्लाई ओभर ८ किलोमिटरको हुने छ । त्यसको लागि आवस्यक पर्ने बलम्बुको ११.८ रोपनी जग्गाको मुआब्जा तिर्न बाँकी रहेको हो ।

सो स्थानमा बन्ने फ्लाई ओभरको डिजाइन तयार भइसकेको छ । निर्माण गर्नका लागि मुआब्जा नतिरेसम्म काम अघि नबढ्ने नागढुंगा–नौँबिसे सुरुङमार्गकी इन्जिनीयर कल्पना अधिकारीले बताइन् ।

‘यही प्रोजेक्ट अन्तर्गत फ्लाईओभर पनि बनाइने हो, ४२ महिना भित्र त्यो पनि पुरा हुन्छ, अहिले मुआब्जाका कारण रोकिएको छ, मुआब्जा दिना साथ काम सुरु हुन्छ,’ उनले मेरोअटोसँग भनिन् ।

बलम्बु क्षेत्रमा मुआब्जा वितरको लागि जमिनको मूल्याङकननै हुन बाँकी रहेको उनले जानकारी दिइन् । धादिङतर्फ भने मुआब्जा वितराण पुरा भइसकेको छ । काठमाडौंतर्फको पनि बलम्बु बाहेकको अन्य क्षेत्रमा गर्नु पर्ने अधिग्रहणको काम सकिएको उनले जानकारी दिइन् ।

यस्तो हुने छ सुरुङमार्ग

हाज्मा आन्दो कर्पोरेशनले निर्माण जिम्मा लिएको सुरुङमार्गको कुल लम्बाई २.७ किमिको रहेको छ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको हो । अन्तर्राष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाई साढे ३ मिटर हुने सडक विभागले जनाएको छ ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।
सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ । आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।

गत कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन ।

आर्थिक वर्ष २०७६/७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको थियो । गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको हो ।


Back_to_top