काठमाडौं । भारतीय बजारमा चाँडै ४ वटा नयाँ कम्प्याक्ट एसयूभी सार्वजनिक हुने भएका छन् ।
तीव्र प्रतिस्पर्धा रहेको सब फोर मिटर कम्प्याक्ट एसयूभी सेग्मेन्टमा थप नयाँ चार मोडल आउने भएका हुन् । यसले प्रतिस्पर्धा झनै तीव्र बनाउने छ ।
भारतीय बजारमा रेनो, टाटा, हुन्डाई र महिन्द्राले नयाँ एसयूभी सार्वजनिक गर्न लागेका हुन् । यीमध्ये हुन्डाइ र रेनोले लन्च गर्ने मिति समेत घोषणा गरिसकेका छन् ।
न्यू जेनेरेसन हुन्डाई भेन्यु
हुन्डाई मोटर इन्डियाले नयाँ जेनेरेसनको कम्प्याक्ट एसयूभी हुन्डाई भेन्यु सन् २०२५ को अक्टोबर २४ मा सार्वजनिक गर्ने घोषणा गरेको हो । कम्पनीले दोस्रो जेनेरेसनको भेन्युलाई ‘क्यूयूटू आइ’ कोड नेम दिएको छ ।
२०२६ हुन्डाई भेन्यू हालको मोडेलसँग मिल्दोजुल्दो देखिन्छ । तर बाहिरी र भित्री डिजाइनमा व्यापक हेरफेर गरिएकाले यसलाई फेसलिफ्ट नभई नयाँ पुस्ताको भनिएको हो ।

नयाँ भेन्युमा १६ इन्च अलोय ह्वील, शार्प विङ मिरर र रिडिजाइन गरिएको ग्लास हाउस दिइएको छ । यसमा कनेक्टेड एलईडी टेल–ल्याम्प पनि नयाँ डिजाइनको हुने अपेक्षा गरिएको छ ।
नयाँ भेन्युको इन्टेरियर बारे केही खुलाइएको छैन । तर, क्याबिनमा पूरै परिवर्तन हुने अनुमान गरिएको छ । ठूलो टचस्क्रीन सहितको नयाँ ड्यासबोर्ड, सेन्टर कन्सोल, स्वीचगियर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट, अपडेट एडास फिचर हुने छन् ।
त्यस्तै, नयाँ जेनेरेसन भेन्युमा हालको मोडेलमा प्रयोग गरिएका तीनवटा इन्जिनहरू कायम राख्ने अपेक्षा गरिएको छ । १२० एचपीको १.० लिटर टर्बो युनिट, ८३ एचपी १.२ लिटर नेचुरल एस्पिरेटेड मोटर र १०० एचपीको १.५ लिटर डिजेल मिल कायमै हुने अनुमान छ ।
नेपालमा हाल लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यु बिक्री गरिरहेको छ । भारतमा सार्वजनिक हुने भएसँगै नेपालमा पनि आउने निश्चित जस्तै छ ।
टाटा पंच फेसलिफ्ट
त्यस्तै, टाटा मोटर्सले आफ्नो सबैभन्दा धेरै बिक्री हुने पंचको फेसलिफ्ट मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले हालसम्म आधिकारिक मिति घोषणा नगरे पनि यो मोडल सन् २०२५ अन्त्यसम्म लन्च गर्ने अनुमान गरिएको छ ।

पंच फेसलिफ्टमा पंच ईभीको डिजाइनसँग मिल्दोजुल्दो नयाँ एक्सटेरीयर डिजाइन आउने छ । तर, यसमा नयाँ डिजाइनको अलोय ह्वील्स, इन्टेरियरमा परिवर्तन जस्ता केही भिन्नता हुनेछ । जसमा नयाँ स्टेयरिङ ह्वील, ड्यासबोर्डमा सुधार, ठूलो १०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टम र पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहने छ।
यद्यपि, मेकानिकल पक्षमा भने कुनै ठूलो परिवर्तन हुने छैन। यसमा हाल प्रयोग हुँदै आएको १.२ लिटर पेट्रोल इन्जिन निरन्तरता दिनेछ, साथै सीएनजी विकल्प पनि उपलब्ध हुनेछ ।
हाल नेपाली बजारमा पंच ईभी र पेट्रोल दुवै भर्सन बिक्री हुँदै आएको छ । सिप्रदी ट्रोड्रिङ नयाँ फेसलिफ्ट पनि ल्याउने
देखिन्छ ।
रेनो काइगर फेसलिफ्ट
रेनोले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट मोडल ल्याउने भएको छ । कम्पनीले सन् २०२५ अगस्ट २४ काइगरको फेसलिफ्ट लन्च गर्ने घोषणा समेत गरिसकेको छ ।

नयाँ काइगरको इन्टेरियर र एक्स्टेरियर दुवैमा परिवर्तन देख्न सकिन्छ । यसमा नयाँ हेडलाइट, बम्पर, टेललाइट र आकर्षक अलोय ह्वील्स समावेश गरिने छन्। क्याबिन भित्र पनि साना परिवर्तनसँगै थप सुविधा प्रदान गरिने अपेक्षा गरिएको छ।
रेनोले नयाँ काइगरमा हाल प्रयोग भइरहेको १.० लिटर एनए पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनलाई नै निरन्तरता दिनेछ। यी इन्जिनहरू म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध हुने छन् ।
हाल नेपाली बजारमा एड्भान्स अटोमोबाइलले काइगर बिक्री गर्दै आएको छ । भारतमा फेसलिफ्ट मोडल आउने भएसँगै नेपालमा पनि आउने निश्चित जस्तै देखिन्छ ।
महिन्द्रा एक्सयूभी थ्री एक्सओ
महिन्द्राले आफ्नो नयाँ एक्सयूभी थ्री एक्सओ यो वर्षकै अन्त्यतिर भारतीय बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले टाटा नेक्सन ईभी र चाँडै आउने किया सायरोस ईभीसँग सिधा प्रतिस्पर्धा गर्न एक्सयूभी थ्री एक्सओ ल्याउन लागेको हो । यसले कम्पनीको लाइनअपमा रहेको एक्सयूभी ४०० ईभीलाई पनि प्रतिस्थापन गर्नेछ।

यसमा आइसीई संस्करणसँग मिल्दोजुल्दो डिजाइन ल्याङग्वेज प्रयोग गरिने अपेक्षा छ । तर ईभीमा विशेष केही परिवर्तन गरिनेछन्। भित्री भाग (इन्टेरियर) मा पनि नयाँपन देखिने छ।
यसमा हाल एक्सयूभी ४०० ईभीमा प्रयोग हुने ३४.५ किलोवाट आवर र ३९.४ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । नयाँ एक्सयूभी थ्री एक्सओ एकपटकको चार्जमा झण्डै ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
हाल नेपाली बजारमा महिन्द्रा एक्सयूभी थ्री एक्सओको पेट्रोल भर्सन बिक्री भइरहेको छ । महिन्दको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले बजारमा प्रतिस्पर्धा गर्न ईभी भर्सन पनि ल्याउने देखिन्छ ।

