काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाले हरेक वर्ष गर्दै आएको नेपालको एकमात्र अटो प्रदर्शनी भदौ १० गतेदेखि भृकुटीमण्डपमा हुन गइरहेको छ । यहि अटो शोलाई लक्षित गरेर अटो कम्पनीहरुले बजारमा नयाँ बाइकहरु भित्र्याउने तयारी गरेका छन् ।
हामीले आगामी भाद्र महिना भित्र नेपाली बजारमा आउने बाइकलाई अटो शोको मुख्य आर्कषणको रुपमा लिएका छौं । यद्यपी अटो शोमा १९ वटा दुई पाङ्ग्रे बिक्रेता कम्पनीले भाग लिएकाले यहाँ उल्लेख गरिएका बाहेकका अन्य थुप्रै मोडलका बाइक तथा स्कुटर ल्याउने छन् । आज हामीले नाडा अटो शो २०१९ मा आउनसक्ने ५ बाइकका विषयमा जानकारी दिने प्रयास गरेका छौं ।
१. बजाज एनएस २०० एबीएस
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता एचएच बजाजले आफ्नो चर्चित नेकेड बाइक एनएस–२०० को परिमार्जित भर्सन नेपाली बजारमा भित्र्याउने भएको छ ।
आगामी भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा एनएस–२०० को एबीएस भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले मेरोअटोलाई जानकारी दिएको छ ।
लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन ।

अब आउने परिमार्जित मोडलमा भने सिंगल च्यानल एबीएस रहेको छ । उक्त मोडललाई बजाजले केही समयअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो ।
यो बाइकमा १९९ सीसी सिगंल सिलिन्डर ४ भल्भ, लिक्वीड कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९ हजार ५ सय आरपीएममा २३.१७ बीएच पावर तथा ८ हजार आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा डे टाइम रनिङ हेडलाइट र एलइडी टेलल्याम्प दिइएको छ । ६ स्पीडको गियर बक्स रहेको बाइकमा मल्टी डिस्क हाइड्रोलिक कल्च रहेको छ । ब्रेकिङमा एबीएससहित फ्रन्टमा ३०० र रियरमा २३० एमएमको क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहेको छ ।
नेपाली बजारमा यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । अहिले बिक्री भइरहेको रेगुलर भर्सन ९नन् एबीएस० को मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।
२. हिरो एक्सपल्स २००
हिरो मोटर्सकपले एक महिनाअघि भारतीय बजारमा सार्वजनिक गरेको एडभेन्चर मोटरसाइकल एक्सपल्स–२०० र एक्सपल्स–२०० टी नेपाली बजारमा आउने भएको छ । हिरोको लागि नेपालको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ (एनजीम)ले कम्पनीको पछिल्लो र पहिलो डार्ट बाइकलाई नेपाली बजारमा ल्याउने प्रकृया सुरु गरेको हो ।

एनजीएमले यसलाई भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमन्डपमा हुने नाडा अटो शो २०१९ मा सार्वजनिक गर्ने तयारी गरिरहेको बुझिएको छ ।
नेपाली बजारमा यी बाइकको सुरुवाति मूल्य ३ लाख २५ हजार रहने अनुमान गरिएको छ । यदि यहि मूल्यको नजिक रहेर यसको मूल्य निर्धारण हुने हो भने यो सस्तो मध्यको एडभेन्चर बाइक बन्ने छ ।
यी दुई बाइकमा २०० सीसी, लिक्वीड कुल सिङ्गल सिलिन्डर टु भल्भ इन्जिनमा उपलब्ध गराएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड ट्रान्समिसन जडान गरिएको छ ।
यसमा हाई स्ट्रेन्थ स्टिल बडी फ्रेम, अगाडि २१ इन्चको स्पोक ह्वील, पछाडिमा १८ इन्चको ह्वील लगाइएको छ ।
यसमा डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड लगायतका विशेषता दिइएको छ । यस्तै यसमा २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ८२५ एमएम सिट हाइट दिइएको छ ।
बाइकको फ्रन्टमा ३७ एमएम टेलिस्कोपिक फर्कसँगै १९० एमएम स्ट्रोक र रियरमा १० स्टेप एडजस्टेबल ग्यास चार्ज मनोशक युनिट लगाइएको छ ।
दुबै मोडलमा समान प्रकारको सेट अप, अलबिट, लेसर ट्राभल, रियर मनोशक, अगाडि २७६ एमएम पेटल डिस्क र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ । यी दुबै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।
३. यामाहा एमटी-१५
एमएडब्ल्यू इन्टरप्राइजेलले यामाहाको बहुप्रतिक्षीत मोटरसाइकल एमटी १५ नाडा अटो शो लक्षित गरेर केही समय अगावै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनी स्रोतका अनुसार अहिले नेपालका बिभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको छ । यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ जुन एमटी ०९ बाट अत्यन्त प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ । नयाँ एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए ९भेरिएबल भल्भ एक्चुएसन० सिस्टम छ । भने एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ ।

यसमा आर–१५ भी–३ कै इन्जिन रहेको छ, जसले १०००० आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । एमटी १५ एजाइल एक्सिलेरेसन, एजाइल ह्यान्डिलिंग र एड्भान्स डिजाइनको सन्तुलित परिणाम हो र यो लोवर इन्ड मोटरसाइकलबाट हायर इन्डमा अपग्रेड हुन चाहने युवा राइडर लक्षित रहेको छ ।
डार्क थिमसहितको यसको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । याहामा एमटी १५ को मूल्य करिब ४ लाख ४५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
४. सुजुकी जीक्सर एसएफ २५०
सुजुकी टू ह्वीलरको नेपालको लागी आधिकारीक बिक्रेता भीजी अटोमोबाइलले नाडा अटो शो लक्षित गरेर हालै भारतीय बजारमा सार्वजनिक भएको सुजुकी जिक्सर २५० एसएफ नेपाली बजारमा भित्र्याउने बताएको छ ।

सुजुकी एसएफ २५० विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर २५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्टुमेन्ट क्लस्टर दिइएको छ । यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड २५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ ।
कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । यो बाइकको नेपाली बजारमा मूल्य ४ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान लगाउन सकिन्छ ।
५. हिराे एक्सट्रीम २०० एस
केही समय अगाडि हिरो एक्सट्रीम २०० एस भारतमा सार्वजनिक भएको थियो । नेपालका लागी हिरोको आधिकारीक वितरक एनजीएम हिरोले यो बाइक भदौमा हुने नाडा अटो शो २०१९ मा नेपाल ल्याउने तयारी सुरु गरेको जनाएको छ ।
हिरो मोटोकर्पले नयाँ डिजाइको साथ बजारमा ल्याएको एक्सट्रीम २०० एस निकै स्पोर्टी देखिएको छ । भारतमा ९८ हजार ५ सय भारतीय रुपैयाँ मूल्य निर्धारण भएको यो बाइक नेपाली बजारमा कति रुपैयाँ पर्छ भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । यद्यपी ३ लाख १० हजार रुपैयाँ हारहारीमा यसको मूल्य निधारण हुने अनुमान भने गर्न सकिन्छ ।

बाइकमा फुल एलइडी हेडल्याम्प र ब्लूटुथ कनेक्टिभिटीको साथ नयाँ फुल्ली डिजिटल एलइडी इक्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । जहाँ नेभिगेसन, गियर पोजीशन इन्डीकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डर एलर्ट राखिएको छ ।
हिरो एक्सट्रीम २०० एसमा २०० सीसी एयर–कूल्ड इन्जिन दिइएको छ । जसले ८ हजार आरपीएममा १८ बीएचपी पावर र ६५ सय आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ । ५ स्पीड म्यानुयल गियर बक्स जडान गरिएको छ । बाइकमा २७६ एमएम फ्रन्ट डिस्कका साथ सिंगल च्यानल एबीएस र रियरमा २२० एमएम डिस्क ब्रेक दिइएको छ ।

