जनकपुरमा लिक क्रस गर्न खोज्ने कारलाई रेलले दियो ठक्कर

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९, ब्रह्मपुरी थापाचोक नजिकै रेलले कारलाई ठक्कर दिएको छ ।

आइतबार बिहान महोत्तरीको पिपराढी स्टेसनबाट आउँदै गरेको नेपाल रेल्वेको रेलले बागमती प्रदेश-०१ ०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) बरुणबहादुर सिंहले थापाचोक तर्फबाट जानकी मन्दिरतर्फ गइरहेको कार रेलको लिक क्रस गर्न खोज्दा दुर्घटना भएको जानकारी दिए । चालकले रेल आएको देख्दादेख्दै जबरजस्ती लिकमा कार प्रवेश गराएकाले दुर्घटना भएको उनले बताए ।

‘रेल पिपरागढीबाट जनपुरतर्फ आइरहेको थियो । थापाचोकमा रेलवे र सडक क्रसिङ छ । त्यहाँ रेल आउँदा कार रोकिनुपर्थ्यो । तर, कार चालक ओभर कन्फिडेन्स भएर रेल आएको देख्दादेख्दै कार लिकमा हाल्यो । तर, रेल आइपुग्दा कारले लिक कटाउन कने । सोही कारण दुर्घटना भएको देखिन्छ,’ उनले मरोअटोसँग भने ।

उक्त कारलाई रेलले करिब २५ मिटर परसम्म धकेलेको थियो । दुर्घटनाबाट कार चालक सामान्य घाइते भएको उनले बताए । तर, कारको चालकतर्फको साइड र रेलको अगाडिको भागमा केही क्षति पुगेको छ ।


Back_to_top