अटो शो, अर्थमन्त्री र अवलोकनकर्ता

काठमाडौं । अहिले काठमाडौंमा सबैभन्दा धेरै चर्चा कार र करको छ । नहोस् पनि किन भृकुटी मण्डपमा भदौ २६ गतेबाट सुरु भएको नाडा अटो शो २०१८ हिजो आइतवार बेलुका समापन भएको छ । अटो शोमा गएर कार वा मोटरसाइकल बुकिङ गर्नेहरु अटो शोको चर्चा गरिरहेका छन् भने, अर्कोतर्फ हरेक स्थानिय तहले आफुखुसी कर लगाए भनेर किसानदेखि उद्योगीसम्मले रोष प्रकट गरिरहेका छन् । 

भदौ २६ गते अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथिको रुपमा पुगेर अटो शोको उद्घाटन गरेका थिए । उनले अर्थमन्त्रालयको बागडोर समातेको केही महिनामा नै ल्याइएको बजेटमा सवारीसाधनमा लगाउँदै आएको करका दरमा परिर्वतन गरी उनले सवारीसाधनको क्षमता (सीसी)को आधारमा अन्तशुल्क लाग्ने नयाँ ब्यवस्था गरेका थिए । 

यसपटकको नाडा अटो शो उद्घाटनको लागि पुगेका उनले नेपालमा नै सवारीसाधन एसेम्बल वा उत्पादनमा लाग्न ब्यवसायीलाई आग्रह गर्दै भने ‘तपाईहरु प्लान्ट लगाउने तयारी गर्नुस्, यहाँ उत्पादन वा एसेम्बल जे गर्ने भएपनि सरकार तपाईहरुलाई सहयोग गर्न तयार छ ।’

२३ लाख मोटरसाईकल र २ लाख कार रहेको नेपाली बजारमा अहिल्यै नीति निर्माताले सवारीसाधनलाई आयातमा प्रतिबन्ध लगाउनु पर्छ भने जसरी अभिब्यक्ति दिनुलाई आश्चर्यको रुपमा मान्न हिच्किचाउनु पर्ने कुनै कारण छैन । 

उनको भाषणको अर्को पाटो अझै रोचक थियो । उनले ऋणमा सवारीसाधन किन्न नहुने तर्कगर्दै भने ‘पैसा कमाएर मात्रै सवारीसाधन किन्नुस्, बैंकले ऋण दिन्छ भनेर गाडी किन्न नहामफाल्नुस् ।’

अर्थमन्त्रीले भनेका विषय यहाँ उल्लेख गर्नुको कारण अटो शोको भब्यतासँग जोड्न खोजीएको हो । उद्घाटनको दिन अटो शोको टिकट काउन्टर दिउँशो एक बजेबाट खोलिएको थियो । त्यति ढिला टिकेट काउन्टर खोल्दापनि त्यहि दिन टिकट काटेर करिब २५०० जनाले अटो शो घुमेका थिए ।

दास्रो दिन टिकेट काटेर मेला घुम्नेको संख्या करिब ७२ सय हाराहरीमा थियो भने तेस्रो दिन करिब ६२ सयले मेला भिजिट गरेका थिए । मेलाको चौथो दिन शुक्रबार थियो । उक्त दिन करिब ६५ सय जानले टिकेट काटेर मेला अबलोकन गरे । शनिवार त मेलामा भिडनै लागेको थियो । अन्तिम दिनपनि मेलामा अबलोकनकर्ताको बाक्लै उपस्थिति रहेको थियो । यो त टिकेट काटेर मेला हेर्नेको भिड हो । त्यससँगै पासलगायतको प्रयोग गरेर मेला अबलोकन गर्नेको ठूलो हिस्सा थियो । आयोजकका अनुसार ६५ हजार अवलोकनकर्ताले अटो शो भिजिट गरेका थिए ।

विगत देखिनै अटो शोले सवारीसाधनका बिषयमा चासो राख्ने हरेक मानिसलाई बुझने मौका प्रदान गर्ने गरेको छ भने, नयाँ सवारीसाधन किन्ने मानिसलाई अवसर सृजना गरेको छ । 

त्यस्तोमा करिब २३ लाख मोटरसाईकल र २ लाख कार रहेको नेपाली बजारमा अहिल्यै नीति निर्माताले सवारीसाधनलाई आयातमा प्रतिबन्ध लगाउनु पर्छ भने जसरी अभिब्यक्ति दिनुलाई आश्चर्यको रुपमा मान्न हिच्किचाउनु पर्ने कुनै कारण छैन । 

अटो शोको भब्यता

विगतको वर्षमा जस्तै भृकुटी मण्डपमा आयोजना भएको यस अटो शोमा सहभागि कम्पनीको संख्या जुन हिसाबले वृद्धि भइरहेको छ त्यसलाई हेर्दा सवारीसाधन बिक्रेताको लागि मेला कति महत्वपूर्ण छ भन्ने कुरालाई दर्शाएको छ । 

करिब १९ वटा चारपाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनी, २० वटा दुईपाङ्ग्रे सवारी बिक्रेता कम्पनी र करिब ४० वटा स्पेयर पाटर्स, ल्युव, टायर, हेल्मेटलगायतका स्टलहरु रहेका छन् ।  सानो प्रर्दशनी स्थलमा करिब १२० कम्पनीका बाबजुद मेलामा सहज अबलोकन गर्ने ब्यवस्था गर्नसक्नु आयोजकको ठूलो उपलब्धी हो । 

अन्तर्राष्ट्रिय स्तरको स्टल

मेलामा सहभागि कम्पनीहरुले जसरी स्टल निर्माण गरेका छन् त्यसले अन्तर्राष्ट्रिय स्तरको अटो मेलाको झल्को दिएको छ । विशेषगरेर चारपाङ्ग्रे सवारी बिक्रेता कम्पनीहरुले जसरी स्टल निर्माण गरेका छन् त्यसले अटो शोलाई एउटा छुट्टै उचाईमा पुर्याएको छ । 

चार पाङ्ग्रे र दुईपाङ्ग्रे बिक्रेता कम्पनीले बनाएको स्टलमा जुन किसिमको भब्यता देखिएको छ त्यसमा सबै कम्पनीले करिब ८ करोड हाराहारीमा खर्च गरेको अनुमान लगाउन सकिन्छ । समग्रमा हेर्दा कम्पनीहरुले करिब १० करोड हाराहारीमा स्टल निर्माणमा खर्च गरेका छन् । 

समग्रमा नाडा अटो शो २०१८ उत्साहपूर्ण, भब्य, ब्यवस्थित र अटो पारखीहरुलाई एउटा अवसरको रुपमा आयो र गयो । यस्तोमा भोलिका दिनमा नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना हुनसक्ने देखिएको छ । त्यता तर्फ नाडाले आफ्नो पाइला अगाडि बढाउने हो भने सफलता मिल्ने बाटो कोरिएको छ ।   


Back_to_top