यामाहाले थाल्यो नयाँ इलेक्ट्रीक टु–ह्वीलर निर्माणमा काम

संसारभर इलेक्ट्रीक सवारी साधन प्रतिको आकर्षण दिनानु दिन बढिरहेको छ । इन्धनको मूल्यसँगै वातावरण प्रदूषण बढेकाले इलेक्ट्रीक भेहिकलक प्रतिको लगाव उकासिएको हो । 

हाल, जापानको टु–ह्वीलर उत्पादक कम्पनी यामाहा भारतीय बजारलाई मध्यनजर गर्दै इलेक्ट्रीक टु–ह्वीलर्स प्लाटफर्ममा केन्द्रित हुने तयारी गरेको छ । भारतका लागि यामाहा मोटर रिसर्च एवम् विकास केन्द्रका म्यानेजिङ डायरेक्टर यासुओ इसिहाराले इलेक्ट्रीक सवारीसाधन निर्माण गर्ने जानकारी दिएका हुन् । 

अटोकार प्रोफेशनलको अनुसार जापान, इन्डियालगायत विभिन्न देशका १०० बढी इञ्जिनियर ईभी निर्माणमा लागि परेका छन् ।

पहिलो इलेक्ट्रीक सवारी निर्माणका लागि कम्पनीले विभिन्न कम्पनीसँग सहकार्य गर्ने भएको छ । एसआईएएमको ५८ औँ वार्षिक उत्सवमा इशीहाराले भने, ‘अन्तर्राष्ट्रियस्तरलाई मध्यनजर गर्दै नयाँ मोडल निर्माण गर्ने योजनामा छौँ । उत्पादित मोडल भारतमामात्र नभई अन्य देशमा समेत निर्यात गर्नेछौँ ।’ यसकासाथै यामाहा ब्याट्री स्वापिङ मोडलको निर्माणमा केन्द्रित हुने उनले बताए । 

भारतको स्थानीय ब्रान्ड हिरो मोटोकर्प, बजाज अटो, टीभीएस मोटर कम्पनी र रोयल इनफिल्डसमेत इलेक्ट्रीक टु–ह्वीलर्स निर्माणमा लागि परेका छन् । सुजुकीका लागि भारतको आधिकारीक वितरक सुजुकी मोटरसाइकलले समेत इलेक्ट्रीक टु–ह्वीलर्स उत्पादनमा लाग्ने तयारी गरेको छ । 

कर्नाटकस्थित बेङ्गलुरु प्लान्टमा ईभी निर्माण गरिरहेको अथर–इनर्जीले सन् २०२० सम्ममा देशभरका १२ सहरमा अर्थर ब्रान्डको उत्पादन गर्ने योजना बनाएको छ ।


Back_to_top