दुर्घटनाको भयावह अवस्था, ६ महिना मै ११ हजार दुर्घटना, मापसे गर्ने बढे

काठमाडौं । पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढ्दो क्रममा रहेको छ । माहानगरीय ट्राफिक प्रहरी माहाशाखाको तथ्यांक आनुसार चालु आर्थिक वर्षको ६ महिनामा नै ११ हजार ६६४ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

यो दुर्घटनाको निकै डरलाग्दो तथ्यांक हो । गत आर्थिक वर्षमा कुल १५ हजार १९० दुर्घटना भएकोमा अहिले ६ महिनामा नै ११ हजारभन्दा बढी दुर्घटना हुनुले बढ्दो दुर्घटनालाई देखाएको छ ।

चालु आवको पुस मसान्तम्ममा सबैभन्दा बढि मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् । सो अवधिमा ४ हजार ५१९ मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका हन् ।

त्यसैगरी कार, भ्यान र जीप ४ हजार १९० वटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।

बस तथा ट्रकको दुर्घटना संख्यापनि निकै कहालि लाग्दो देखिन्छ । बस १ हजार ५०१ र ट्रक तथा टिपर १ हजार १११ वटा दुर्घटनामा परेका छन् ।

यस्तै माईक्रोबस १७९ वटा, टेम्पो तथा ट्याक्टर ८७ वटा र शारीरिक शक्तिबाट चल्ने ७७ वटा सवारीसाधन दुर्घटना भएको माहाशाखाले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा भने दुर्घटनामा ५ हजार ५११ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएको थियो भने सो अवधिमा ट्रक/टिपर १ हजार ७९१, वस १ हजार १९१ दुर्घटनामा परेको थियो । त्यस्तै माइक्रो ३ सय ६५, कार, भ्यान, तथा जीप ५ हजार ३ सय ५, टेम्पो/ट्याक्टर १ सय ३८ र शारीरिक शक्तिबाट चल्ने १ सय २९वटा सवारी साधन दुर्घटना भएको थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा कुल ११ हजार ५ सय ७ सवारी दुुर्घटनामा परेका थिए ।

सवारी दुर्घटनाका मुख्य कारण चालको लापरवाही

सवारी दुर्घटना हुनुको मुख्य कारण चालकको लापरवाही रहेको देखिन्छ । चालकको लापरवाहीकै कारण चालु आर्थिक वर्षको पुष मुसान्तसम्ममा कुल ५ हजार ७९३ वटा सवारीसाधन दुर्घटना भएको तथ्याङकले देखाएको छ ।

गत आवमा चालकको लापरवाहीका कारण कुल ७ हजार ५ सय २९ वटा सवारी साधन दुर्घटना भएको थियो । त्यसैगरी आव २०७४/०७५ मा चालकको लापरवाहीका कारण कुल ५ हजार ९ सय ६१ वटा सवारी साधन दुर्घटना भएको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

तिव्रगतिका कारण चालु आर्थिक वर्ष २०७६/०७७ पुष मसान्तसम्ममा कुल २ सय २९ वटा सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ । त्यसैगरी गत आवमा तिव्रगतिका कारण कुल ५ सय २५ वटा सवारी साधन दुर्घटना भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा तिव्रगतिका कारण कुल ७१ वटा मात्र सवारी साधन दुर्घटना भएको थियो ।

मापसे गरेर गाडी चलाउने बढे

मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउनेको संख्या बढ्दो देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा २ सय ७९ सवारी चालकले मापसे गरेका कारण दुर्घटना भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

जुन गत आर्थिक वर्ष २०७५/०७६ मा २ सय ८३ वटा मात्र थियो । उक्त संख्या बराबरको दुर्घटना चालु आवको ६ महिनामा नै भएबाट मापसे गरेर गाडी चलाउनेको संख्या बढेको हो । अघिल्लो आव २०७४/०७५मा मापसेका कारण कुल २ सय २१ वटा मात्र सवारीसाधन दुर्घटनामा परेको थियो ।

यसैगरी यान्त्रीक गडबडीका कारण चालु आर्थिक वर्ष २०७६/०७७ पुष मसान्तसम्ममा कुल ३३, ओभरटेकका कारण ४३, पैदलयात्रुको लापरवाही १, सडक अवस्था १२ र अन्यमा २ वटा सवारी साधन दुर्घटना भएको थियो ।

गत आव २०७५/०७६ मा यान्त्रीक गडबडीका कारण कुल ६७, ओभरटेकका कारण ७५, पैदलयात्रुको लापरवाही ३, सडक अवस्था २६ र अन्यमा ३ वटा सवारी साधन दुर्घटना भएको थियो ।


Back_to_top