काठमाडौं । नेपालको लागि जीएसी एवोन इलेक्ट्रीक भेहिकलको आधिकारीक विक्रेता सीजी मोटर्सले तेस्रो मोडल नेपाल ल्याएको छ । कम्पनीले फागुन महिनामै ‘एवोन इएस’ मोडल नेपाल ल्याएको हो ।
कम्पनीले यसअघि एवोन वाई र एवोन भी मोडल ल्याएर बिक्री गर्दै आएकोमा नयाँ सेडान इएस ईभी पनि नेपाल ल्याएको हो । यसको लम्बाइ ४८१० एमएम, चौडाइ १८८० एमएम र उचाइ १५४५ एमएम छ । ५ सिट क्षमताको कारमा ह्वीलवेस भने २७५० एमएम लामो दिइएको छ ।

जीएसीले एवोन इएसमा १०० किलोवाटको मोटर र ५५.२ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसलाई एक पटकको फुल चार्जमा ४४२ किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ ।
आकर्षक डिजाइनको एवोन इएसमा एलइडी डीआरएल, एलइडी हाइ-माउण्ट स्टप ल्याम्प र रियरमा एलइडी फगल्याम्प छ । यसमा ६ तरिकाले मिलाउन मिल्ने ड्राइभ र ४ तरिकाले मिलाउन सकिने म्यानुअल एट्जस्टेबल फ्रन्ट प्यासेन्जर सिट उपलब्ध छ । कम्पनीले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ ।
फुल साइजको स्पेयर टायरसहित आउने इएस मोडलमा सुरक्षाको लागि ड्यूल फ्रन्ट एयरव्याग, इएसपी, इबीबी, एबीएस, इबीडी हाइड्रोलिक ब्रेक असिस्ट, हिलस्टार्ट असिस्ट, अटो होल्ड, सेन्सर सहितको रियर पार्किङ क्यामरा दिइएको छ । यसको ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले र १० इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।
विगत १ महिनादेखि सडकमा गुडाएर परीक्षण भइरहेको यो ईभी छिटै बिक्री सुरु हुने कम्पनी स्रोतले बतायो । कम्पनीले अहिलेसम्म यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । तर, ५० लाख आसपासको मूल्यमा इएस उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

