निगमले घटायो डिजेलको भाउ, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनसँगै डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४६.५० रुपैयाँ, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाएको छ ।


Back_to_top