काठमाडौं । जीएसी एवोन ब्राण्डमा नयाँ इलेक्ट्रीक ह्याचव्याक दुई दिनपछि ल्याउने पक्का भएको छ । सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिनेगरी नयाँ ह्याचव्याक ल्याउन लागेको हो ।
जिएसी एवोन-युटी नाम दिएर बजारमा आउने ह्याचव्याक कारको तस्बिर सार्वजनिक गर्दै कम्पनीले आगामी नोभेम्बर १५ तारिखमा गाडी बजारमा आउने जानकारी दिएको हो ।
ग्वान्झाओ अटो शो २०२४ मा सार्वजनिक हुने एवोन युटी मोडल धेरै फिचरको आधारमा बीवाइडी डल्फीनको सिधा प्रतिस्पर्धी हुनेछ । कम्पनीले यसमा लामो ह्वीलवेस, फ्लस ह्याण्डलबार, स्मुद आउटलाइन र ओभल सेप दिएको छ ।
निकै आकर्षक फ्रन्ट ग्रिलमा देखिएको एवोन युटीमा अगाडिको दायाँ फेन्डरमा चार्जिङ पोर्ट दिएको देखिन्छ । साथै, हेडलाइट र फगलाइट पनि यसमा पृथक देखिन्छ । एयर ड्यामको बनोट र नम्बर प्लेट लगाउने स्थान बीचको कम्बीनेसन उत्कृष्ट छ । ठूलो एयर इन्टेक र रुफ स्पोइलर यसको अर्को उत्कृष्ट कम्बीनेसन हो ।

पृथक ह्वील, टेललाइट र बडी प्यानमा तयार भएको ह्याचव्याक कार निकै एरोडाइनामिक डिजाइनमा छ । यसको इन्टेरियरमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जर, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।
एवोन युटीको लम्बाई ४२७० एमएम, चौडाई १८५० एमएम र उचाई १५७५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस रहने छ । १७ इन्चको अलोय ह्वील, १०० किलोवाट क्षमताको मोटर रहने कारको टप स्पीड १५० किलोमिटर प्रतिघन्टा हुनेछ । यसमा रहने ब्याट्रीको साइजको विषयमा जानकारी प्राप्त भएको छैन । तर, यसमा एलएफपी ब्याट्री रहने पक्का छ ।
आधुनिक फिचरले सुसज्जित हुने यो कार ‘एइपी’ प्लेटफर्ममा बन्नेछ । यसको मूल्य १३ हजार ८०० डलरदेखि १७ हजार ९५० अमेरिकी डलरसम्म हुनेछ ।
नेपाली बजारमा एवोन वाईको बिक्री गर्दै आएको सिजी मोटर्सले डिसेम्बरमा एवोन भी मोडल ल्याउने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरु भएसँगै नयाँ ह्याचव्याक कार पनि नेपाल आउने छ ।

