काठमाडौं । सिजी मोटर्सले चिनियाँ ब्राण्ड एवोनको नयाँ एसयूभी ‘भी’ डिसेम्बरमा नेपाल ल्याउने भएको छ । कम्पनीले लेफ्टह्याण्ड ड्राइभ एवोन भी नाडा अटो शो २०२४ मा देखाएको थियो ।
जीएसीको एवोन-भी आफ्नो डिजाइन, लुक्स र प्रेजेन्टेसनको कारण चर्चा कमाइ रहेको मोडल हो । कम्पनीका अनुसार एवोन–भीमा २३ प्रकारका टेक्नोलोजी फिचर र ८ प्रकारका कोर यूजर भ्यालू पाउन सकिन्छ । सेल्फ इभल्भीङ एआई ककपीट, एडीगो सेन्स, एआई मोडल प्रयोग भएको कारण चालकले धेरै कुरा गाडीको सिस्टमसँग गर्न सक्नेछन् ।
एवोन-भी मोडललाई कम्पनीले ४०० भोल्ट आर्किटेक्चरमा उत्पादन गरेको भएपनि ६० प्रतिशत चार्जिङ टाइम कटौती गर्न सक्षम भएको दावी गरेको छ । अहिले यसमा प्रयोग भएको सिएटीएलको ब्याट्रीलाई १५ मिनेट चार्ज गर्दा ३७० किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।
सिजीले नेपाल ल्याउने एवोन भी मोडलमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसले सिंगल चार्जमा ६५० किलोमिटर रेन्ज दिने सिएलटीसी टेष्टले देखाएको छ । यसको रियल वर्ल्ड रेन्ज ५३० किमि हाराहारी हुने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध हुने अनुमान गरिएको एवोन-भीको लम्बाई ४६०५ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस प्रयोग भएको छ । कम्पनीले यसको मूल्य ६५ देखि ७० लाखको बीचमा कायम गरेर बिक्री सुरु गर्न लागेको हो ।