फोर्डसँग धेरै अप्सन छन्, नयाँ मोडल ल्याउँछौं, पुरानालाई उत्कृष्ट सर्भिस दिन्छौं : आकाश गोल्छाको अन्तर्वार्ता

विश्वलाई गाडी चढ्न सिकाएको फोर्ड भारतमा चल्न सकेन । भारतमा नचल्दा नेपालमा राम्रो बजार हिस्सा भएर पनि फोर्डले आफ्नो हिस्सा गुमाउने निश्चित भएको छ । भारतमा उत्पादन भएका फोर्डका कार नेपालमा वार्षिक औषत एक हजार यूनिट विक्री हुँदै आएको थियो । अचानक भारतमा फोर्डले गाडी उत्पादन बन्द गर्ने घोषणासँगै नेपालमा पनि फोर्डका कम मूल्यमा विक्री हुने फिगो, फ्रिस्टाइल, इकोस्पोर्ट, फियस्टा जस्ता मोडलको आयात बन्द हुने भएको छ । योसँगै धेरै फोर्डका गाडी चढ्दै आएका ग्राहकहरूमा अन्योलता छायो ।

फोर्डको आधिकारिक वितरक जिओ फोर्डले विज्ञप्ति निकालेर सबै ग्राहकलाई ढुक्क भएर गाडी चढ्न र भविष्यमा उपलब्ध गराउनु पर्ने सर्भिस सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी गरायो । त्यसले धेरै ग्राहकको प्रश्नको उत्तर त दियो । तर, कम्पनीको भावी योजना र रणनीति कस्तो हुने भन्ने विषयमा मेरोअटोले जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छासँग गरेको कुराकानीको सम्पादीत अंश :

भारतमा बनेका फोर्डका कार ११ वर्ष पहिलेदेखि नेपालमा विक्री सुरू गर्नुभएको थियो । भारतमा अचानक उत्पादन बन्द गर्ने निर्णय भयो । अब नेपालमा फोर्डको अवस्था के हुन्छ ?

नेपालमा हामीले सन् २०१० मा थाइल्याण्डमा बनेको एभरेष्ट गाडी ल्याएर विक्री सुरू गरेका थियौं । पछि, भारतमा उत्पादन भएको एन्डेभर ल्याएर विक्री सुरू गरेका थियौं । धेरै स्टक राख्नु नपर्ने, ल्याउन सहज, कम समयमा नै ल्याउन सक्ने भएकाले हामीले इन्डेभर ल्याएका थियौं । हामीले डिलर लिनु अघिको एभरेष्टका ग्राहकलाई पनि हामीले सेवा दिएका थियौं । यसले अहिले धेरै ग्राहकमा फोर्डको भारतीय उत्पादन बन्द भएपछि नेपालमा सर्भिस पाउँदैनन् कि भन्ने चिन्ता रहेको देखियो । हामी हाम्रा ग्राहकलाई आस्वस्त हुन आग्रह गर्दछौं । जिओ फोर्ड सबै किसिमका सर्भिस र सुविधा प्रदान गर्न कटिबद्ध रहेको छ ।

नेपालमा साना एसयूभीको ट्रेन्ड सेट गर्ने कम्पनी नै फोर्ड हो । संख्यात्मक रूपमा यति धेरै गाडी सडकमा भएपछि त्यसलाई सेवा दिन हामी प्रतिबद्ध नहुने कुरै भएन ।

अहिले नेपालमा फोर्डका कति गाडी सडकमा गुडी रहेका छन् ? ती गाडीको रिसेल मूल्य कस्तो होला ?

हामीले सन् २०१० देखि अहिलेसम्म ८ हजार यूनिटभन्दा माथि गाडी विक्री गरेका छौं । भारतमा फोर्डको बजार कस्तो थियो भन्नेभन्दा नेपालमा धेरैले फोर्डका गाडी मन पराएका थिए । हाम्रो इकोस्पोर्टले त नेपालमा कम मूल्यमा एसयूभी चाहने ग्राहकलाई सन्तुष्ट सेवा दिइरहेको छ । नेपालमा साना एसयूभीको ट्रेन्ड सेट गर्ने कम्पनी नै फोर्ड हो । संख्यात्मक रूपमा यति धेरै गाडी सडकमा भएपछि त्यसलाई सेवा दिन हामी प्रतिबद्ध नहुने कुरै भएन ।

जहाँसम्म ‘रिसेल भ्यालू’को कुरा छ, सुरूआतमा केही ग्राहकहरू आत्तिएर आफ्नो गाडी बेच्न खोज्नु भएको छ भन्ने कुरा हामीले पनि सुनेका हौं । तर, कालान्तरमा यसको मूल्यमा ठूलो समस्या आउने हामीले देखेका छैनौं । नेपालमा अन्य कम्पनीले गाडी विक्री गरेर सर्भिस नै बन्द गरेको अवस्था पनि हामीले देखेका हौं । तर, पनि ती गाडीको अहिले पनि राम्रै मूल्य आइरहेको छ । फोर्ड त नेपालमा बन्द हुन लागेको होइन नि । जिओ फोर्डले फोर्डका गाडी नै ल्याएर विक्री गर्छ, सर्भिस दिन्छ । अहिले जसरी सर्भिस ग्राहकले पाउनुभएको छ त्यस्तै उच्चस्तरीय सर्भिस हामी उपलब्ध गराउने छौं । हामी पार्टस्मा कुनै समसया हुन दिँदैनौं । हाम्रा सबै डिलर नेटवर्क संचालनमा रहने छन् ।

विश्वकै ठूलो कार निर्मातामा पर्ने कम्पनीले संसारभरका मानिसलाई कार चढ्न सिकायो । तर, भारतमा अचानक प्लान्ट बन्द गर्ने घोषणा हुँदा तपाईंको बिजनेश प्लानमा कस्तो असर पर्यो ?

हामीले फोर्डले भारतमा उत्पादन बन्द गर्ला भन्ने विषय सोचेकै थिएनौं । भारतमा रहेको दुई प्लान्ट मध्ये बन्द गर्ने अवस्था आउँदा पनि एउटा मात्रै बन्द हुन्छ होला भन्ने थियो । विगत १० वर्षदेखि नोक्सानीमा संचालन हुनु परेको अवस्था र भारत सरकारले प्रदूषण मापदण्डमा गरेको कडाइको कारण फोर्डले थप लगानी गर्नु पर्ने अवस्था आएको थियो । प्रदूषणमा भारतले अंगिकार गरेको क्याफे रुल र बीएस ६.२ योजनाकै कारण फोर्ड थप लगानी नगर्ने मुडमा पुगे जस्तो लाग्छ । फोर्डले अन्तर्राष्ट्रिय बजारमा सानो गाडी उत्पादन र विक्री नगर्ने भएकाले भारतको लागि मात्रै थप लगानी गर्न कठिन भयो भन्ने कुरा कम्पनीले भनेको थियो । त्यसले, हाम्रो जस्तो साना कारको बजार भएको देशमा गरिएको बिजनेश प्लानमा धक्का लाग्नु स्वभाविक हो ।

भारतमा फोर्डको सफल मोडल इकोस्पोर्ट थियो । भारतमा बनाएर वार्षिक १ लाख ४० हजार यूनिटसम्म निर्यात गर्दै आएको तथ्यांक भेटिन्छ । नेपालमा पनि त्यसको सफलता भनिरहनु पर्दैन । यस्तोमा इको स्पोर्टको साइजको कुनै गाडी तत्काल नेपाल ल्याउने अवस्था छ कि छैन ?

तत्काल फोर्डले हामीलाई कुनै जानकारी दिएको छैन । यद्यपि, कम्पनीले केही साना गाडीको प्लान भने गरिरहेको जानकारी दिएको छ । त्यसको लागि तत्काल यही गाडी आउँछ भन्न सकिने अवस्था छैन । प्यूमा, कुगा जस्ता मोडल पनि नेपाल आउन सक्छ । तर, यसको लागि हामी आन्तरिक गृहकार्यमा रहेका छौं । टेरोटोरी, इभी मोडल जस्ता गाडी पनि हामी ल्याउन सक्नेछौं ।

 


Back_to_top