काठमाडौं । लकडाउन पछि मोटरसाइकल तथा स्कुटरको बिक्रीमा वृद्धि भएसँगै कम्पनीहरुले मोटरसाइकल तथा स्कुटरहरुको मूल्य वृद्धि सुरु गरेका छन् । विशेषत मोटरसाइकल बिक्रेता कम्पनीहरुले २०२० मोडलको आयत सुरु भएसँगै मोटरसाइकलको मूल्यमा वृद्धि गरेका हुन् ।
अहिले मोटरसाइकल बिक्री निकै राम्रो भइरहेको र नयाँ मोडलहरु आउन सुरु गरेकाले २०२० मोडलमा केही मूल्य बढाउनु परेको कम्पनीहरुको भनाई छ । अहिले नेपालमा सबैभन्दा धेरै हिरो, यामाहा र सुजुकीले मूल्य बढाएको छ । हिरो र यामाहाले आफ्ना उत्पादनमा २ हजारदेखि ५ हजारसम्मले मूल्य बढाएको छ भने सुजुकी, बजाज र टीभीएसले २ हजार रुपैयाँसम्मले मूल्य बढाएका छन् । तर, हिरोले भने ठूला मोटरसाइकलमा मात्रै मूल्य वृद्धि गरेको छ ।
यी कम्पनीहरुले बिक्री गर्दै आएका सबै मोडलमा भने मूल्य बढाएका छैनन् । बजारमा धेरै बिक्री हुने र कडा प्रतिस्पर्धा रहेका मोडलहरुको मूल्य भने बढाएका छन् ।
भारतमा पनि जुलाई महिनाको मध्यबाट सबै कम्पनीहरुले आफ्नो मोटरसाइकलको मूल्यमा केही वृद्धि गरेकाले नेपालमा पनी कम्पनीहरुले मूल्य वृद्धि गरेका हुन् । यद्यपी कम्पनीहरु त्यही कारण नभएको बताउँछन् ।
‘लकडाउन सुरु हुँदा हामीसँग ठूलो परिमाणमा मोटरसाइकल स्टकमा थियो । हामीले लकडाउन पछि अफर नै ल्याएर ती मोटरसाइकलको बिक्री सक्यौं । अब आउने नयाँ मोडलमा पुरानोको तुलनामा आयतगर्दा नै केही मूल्य बढेकाले हामीले पनि बढाएर मूल्य निकालेका हौं’, एक बिक्रेताले भने ।
लकडाउन खुकुलो भएसँगै खुलेको बजारमा मोटरसाइकलको बिक्री निकै बढेको थियो । जसका कारण धेरै मोटरसाइकल तथा स्कुटर स्टकमा राखेका कम्पनीहरुले आफ्नो स्टक क्लियर गरेका छन् । अब सबै कम्पनीसँग २०२० मोडलका मोटरसाइकलहरु उपलब्ध रहेका छन् ।
यामाहाले आफ्नो एमटी १५ र आर १५ भी थ्रीमा ५ हजारले मूल्य बढाएको छ भने बजाजले आफ्ना पल्सर सिरिजका अधिकांश मोडलमा २ हजार रुपैयाँले मूल्य बढाएको छ । सुजुकीले आफ्नो मोटरसाइकलमा २ हजार मूल्य बढाएको छ भने टीभीएसले एनटर्क रेस एडिसनमा २ हजार रुपैयाँले मूल्य बढाएको छ ।

